मोरङ- गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन्।
विराटनगर विमानस्थलमा आज मंगलबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने दाबी गरे।
गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गरे।
उनले वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए। गृहमन्त्री लेखकले संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे।
गृहमन्त्री लेखकले वर्तमान सरकारले १० महिनामा गरेको उपलब्धिहरूको प्रशंसा गर्दै आर्थिक सूचकांका र अर्थतन्त्र सवलीकरणतर्फ अगाडि बढिरहेको बताए।