शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्छौँ : गृहमन्त्री लेखक

मंगलबार, वैशाख ३० २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्छौँ : गृहमन्त्री लेखक

कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले आधुनिकीकरणसहित कारागारलाई उद्योगग्रामका रुपमा रुपान्तरण गर्न लागेको गृहमन्त्री रमेश लेखकले स्पष्ट पारे।

विराटनगर- गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका रूपमा स्थापित गर्ने बताएका छन्।

कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले आधुनिकीकरणसहित कारागारलाई उद्योगग्रामका रुपमा रुपान्तरण गर्न लागेको स्पष्ट गरे।

उनले प्रचलित कानूनी प्रावधानबमोजिम कारागारमा राख्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि कैदीबन्दीको मानव अधिकारप्रति सरकार संवेदनशील रहेको बताए।

लोकतन्त्रमा सबै व्यक्तिको मानवअधिकार सुनिश्चित हुने प्रसंग उल्लेख गर्दै उनले कैदीबन्दीको तुलनामा कारागार भवन कम भएको र आवश्यक पूर्वाधारसमेत नभएको भन्ने गुनासो सम्बोधन गर्ने पक्षमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिए।

फरक प्रसंगमा वर्तमान सरकार गठन भएको १० महिनाको अवधिमा केही कानूनी तथा नीतिगत व्यवस्था सुधारसहित आवश्यक वातावरण तयार गरेपछि  वस्तु आयातमा कमी र निर्यात वृद्धि भएको, विदेशी मुद्राको सञ्चिति बढेको, निजी क्षेत्र उत्साहित भएको र मुलुकको समग्र आर्थिक परिसूचकहरू सन्तोषजनक रहेको बताए।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले नवनिर्मित कारागार भवनबाट कैदीबन्दीलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गर्दै कैदीबन्दीको श्रमको सदुपयोगसहित मानवअधिकारको पक्षमा सरकार रहेको स्पष्ट गरे।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कारागारमा देखिने समस्या सम्बोधन गरी कैदीबन्दीलाई उचित व्यवहार गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, कोशी प्रदेशसभा सदस्य भीम पराजुली, संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख प्रदीपकुमार सिंह, केन्द्रीय कारागार विभागका महानिर्देशक नारायण भट्टराईले कैदीबन्दीको रोजगारी र मानवअधिकारका पक्षमा धारणा व्यक्त गरेका थिए।

विराटनगरको हाटखोलास्थित पुरानो जिल्ला कारागार भवन परिसरमा नवनिर्मित कारागार भवन निर्माणका लागि कुल ३६ करोड १२ लाख ८५ हजार रूपैयाँ खर्च भएको भवन विभागले जनाएको छ।

विसं २०७८ साल असार २४ गते शिलान्यास भएको सो भवन निर्माण प्रक्रियाअन्तर्गत पुरुष सुधारगृह, महिला सुधारगृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, जिल्ला कारागार प्रशासन भवन, जिल्ला कारागार प्रमुख आवास भवन, सुरक्षा पर्खाल, सुरक्षा पोष्ट, सीमा सुरक्षा जाँच कक्षसहित, सडक सञ्जाल, नाला, आकस्मिक पानी भण्डारण पोखरी तथा अन्य बगैँचाजस्ता संरचना तयार भएको भवन निर्माण विभागका वरिष्ठ प्रविधिक प्रदीप खनालले जानकारी दिए।

सो कारागार भवनमा २१८  पुरुष र ९९ महिला कैदीबन्दी राख्न सकिनेछ। रासस


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend