मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

पटकपटक भुक्तानी पाएपनि निर्माण कम्पनीले काम अगाडि नबढाउँदा सिमलटारी-सौतामारे-मच्छी सडकखण्ड अलपत्र

images
मंगलबार, वैशाख ३० २०८२
images
पटकपटक भुक्तानी पाएपनि निर्माण कम्पनीले काम अगाडि नबढाउँदा सिमलटारी-सौतामारे-मच्छी सडकखण्ड अलपत्र

प्युठानमा सौतामारे-मच्छी-वाग्दुला-बिजुवार-चकचके-खुङग्रीसम्मको सडक विस्तार हुनेछ। अहिले पहिलो चरणमा सौतामारे-मच्छी सडकखण्ड बन्दैछ।

images
images

प्युठान- प्युठान, गुल्मी र अर्घाखाँची तीन जिल्ला जोड्ने प्युठानको सौतामारे भएर जाने राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गतको गुल्मी-प्युठान सडकखण्डको कामले गति लिन सकेको छैन।

images
images
images

गुल्मीबाट प्युठानको मच्छीसम्म पुग्ने मदन भण्डारी राजमार्गको काम धिमा गतिमा अघि बढेको छ। प्युठानको कोसेढुंगाका रुपमा हेरिएको यस राजमार्गअन्तर्गत पर्ने सौतामारे-मच्छी सडकखण्डको काम द्रुत गतिमा नहुँदा सर्वसाधारणलाई समस्या परेको छ।

images
images

मदन भण्डारी राजमार्गअन्तर्गतको गुल्मीको सिमलटारी हुँदै प्युठानको सौतामारे-मच्छीमा काममा प्रगति भएको देखिँदैन। सडक निर्माणका लागि पहाड काटे पनि काम पूरा नभएर अलपत्र परेको छ। स्थानीयहरु घर अगाडि कालोपत्र सडक निर्माण हुने भएपछि जति खुसी देखिन्थे तर सडकको काम अगाडि नबढ्दा त्यतिकै दुःखी र आक्रोश देखिन्थे।

images
images

गुल्मीको सिमलटारीदेखि प्युठानको सौतामारे-मच्छीसम्मको ३१.८ किलोमिटर रहेको छ। यसमा गुल्मीदेखि प्युठानको सौतामारेसम्मको १६ किलोमिटर गुल्मीमा र सौतामारेदेखि मच्छीसम्म १५.८ किलोमिटर प्युठानमा पर्दछ। २०७९ कात्तिकमा उक्त सडक बनाउने ठेक्का सम्झौता श्रेष्ठ सक्षम निर्माण जेभीले पाएको छ।

श्रेष्ठ र सक्षम निर्माण कम्पनी (जेभी) ले सडक निर्माण थालनी गरेयता पटकपटक भुक्तानी पाए पनि केही महिनादेखि काम बढाएको छैन। झिमरुक गाउँपालिका-१ को सौतामारे फेदीमा क्रसर, स्काभेटर, जेसिबीसम्म राखेको देखिन्छ। यसले गर्दा आगामी साउनमा सम्पन्न हुनैपर्ने सिमलटारी-सौतामारे-मच्छी सडकखण्ड पूरा नहुने देखिन्छ।

सरकारले मदन भण्डारी राजमार्ग भित्री मधेस र चुरे क्षेत्रमा रहेका धरान, उदयपुरको गाईघाट, हेटौँडा, भरतपुर, पाल्पाको रिडी, गुल्मी तम्घास, प्युठानको मच्छी, वाग्दुला र बिजुवार हुँदै दाङको घोराहीदेखि सुर्खेतसम्मका सहरलाई जोड्ने औद्योगिक करिडोरका रुपमा निर्माण गर्न थालिएको हो। यसअन्तर्गत प्युठानमा सौतामारे-मच्छी-वाग्दुला-बिजुवार-चकचके-खुङग्रीसम्मको सडक विस्तार हुनेछ। अहिले पहिलो चरणमा सौतामारे-मच्छी सडकखण्ड बन्दैछ।

यो राजमार्ग बनाउनुको उद्देश्य भित्री मधेस र चुरे क्षेत्रमा यातायात तथा त्यस क्षेत्रका खानीसम्म पहुँच पुर्‍याउँदै स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्नु पनि रहेको हो। प्युठानबाट निर्वाचित सांसद सूर्य थापाले ठेक्का सम्झौता भएर काम सुरु भए पनि सडकको काम अगाडि बढ्न नसकेको बताए। 'ठेक्का लगाएर जुन गतिमा सडक निर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन,' उनले भने, 'जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि सम्बन्धित निकायलाई पटक-पटक भनिरहेको छु।'

सांसद थापाले सडकको काम निर्धारित समयमा सम्पन्न गराउनका लागि सडकका जिम्मेवारी व्यक्ति, निर्माण व्यवसायी डम्बर खड्कालाई पनि छलफल गराएको बताए। उनले सौतामारे-मच्छी सडकखण्ड नबन्दा अहिले सर्वसाधारण धुलो, धुवाँ र हिलोमा हिँड्न बाध्य भएको सुनाए।

सडक निर्माण गर्नका लागि काठमाडौंस्थित मदन भण्डारी राजमार्गको आयोजना निर्देशनालय र गुल्मीस्थित योजना कार्यालयमा पटकपटक सरोकारवालासँग छलफल गरे पनि छलफलअनुसार काम अगाडि बढन नसकेको सांसद थापा बताउँछन्। 

प्युठानअन्तर्गत मदन भण्डारी राजमार्गको (एनएचशून्यनाइन)को रिडी-सुर्खेत सडकखण्डको रेखांकन रिडी-तम्घास-सिमलटारी-सौतामारे-मच्छी-बिजुवार-चकचके-खुङग्री-लिवाङ-घर्तिगाउँ-सुखाओडार-पातीहाल्ने-थारमारे-बागमारे-शीतलपाटी-सल्यान-खलंगा-कुभिण्डेदह-बालुवासङ्ग्रही-बोटेचौर-भेडाबारी-धुलियाविट-वीरेन्द्रनगर सुर्खेत कामय गरिएको छ।

यसैगरी, अर्को रिडी-बलकोट-हङसपुर-प्युठान, प्युठान-सुर्खेत सडकखण्ड (एनएचनाइन्टिन) को रेखांकन रिडी-बलकोट-सन्धिखर्क-गच्छागैरा-रतनमारे-गोखुंगा-वागदुला-देवीस्थान-लोहारपानी-घोराही-तुल्सीपुर-पुरन्धारा-बोटेचौर (सुर्खेत) कायम गर्ने उल्लेख छ। दुवै सडक प्युठानमा परेको हुनाले ती सडक बनेको खण्डमा प्युठानको यातायात क्षेत्रमा कोसेढुंगा सावित हुनेछ।

यही बैशाख २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सांसद थापाले ज्ञापनपत्र बुझाएर मदन भण्डारी राजमार्गको सिमलटारी-सौतामारे-मच्छी खण्ड ठेक्का लागेर काम ढिलाइ भएकोप्रति ध्यानाकर्षण गराउँदै उक्त सडकखण्डको काम द्रुतगतिमा निर्माण गरिनुपर्ने माग राखे।

ज्ञापनपत्रमा उनले गोखुंगा-बाग्दुला खण्डको वातावरणीय प्रभाव मूल्यांकन भइसकेकाले ठेक्का लगाउनुपर्ने, सोही खण्डलाई बाग्दुला-बडहर-सारिबाङ हुँदै खैरा गाँजरीस्थित पक्की पुलसम्म झिमरुक नदीको बायाँतर्फबाट विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गरी ठेक्का लगाएर लिंक रोड जोड्न अनुरोध प्रधानमन्त्री ओलीसमक्ष गरे।

यस्तै,मच्छीबाट-पिँडाल्ने-छातीपाटा-राताटारी-कुटिचौर-दम्ती-बिजुवार-बेलुवासम्मको खण्डमा यसै राजमार्गलाई लिंकरोडका रुपमा डीपीआर गरी ठेक्का लगाउनुपर्ने माग प्रधानमन्त्री ओलीसक्षम सांसद थापाले माग राखेका थिए।

गुल्मीस्थित योजना कार्यालयका सूचना अधिकारी हुमानाथ पौडेलका अनुसार एक अर्ब ४५ करोड ३२ लाख ९९ हजार ९ सय रूपैयाँमा सडक निर्माणको सम्झौता भएको छ। झिमरुक-१ सौतामारेका वडाअध्यक्ष धुव्रराज खनालले राजमार्ग बनेपछि तीन जिल्लाका स्थानीयलाई सहज हुने बताउँछन्।

'अर्घाखाँचीको मलारानी गाउँपालिका र गुल्मीको मदाने, धुर्काेट र मालिकासहित तीनवटा पालिकालाई प्रदेश मुकाम आउजाउ गर्न यही बाटो भएर जान सजिलो हुन्छ', उनले भने, 'अहिले ती पालिकाका स्थानीयवासी केही काम पर्यो भने यही बाटो हुँदै भालुवाङ जाने गरेका छन्। सडक बनेपछि दुई घण्टामा प्रदेश मुकाम जान अर्घाखाँची र गुल्मीका स्थानीयलाई सजिलो हुनेछ।'

वडाध्यक्ष खनालले सडक निर्माणको काम बीचमा अलपत्र पर्दा स्थानीयलाई हिँड्डुल गर्न पनि समस्या भएको छ। 'झिमरुक-१ को वाङ्गेसम्म र झिमरुक-४ को स्वास्थ्य कार्यालयमुनिसम्म काट्ने काम भएको छ,' उनले भने, 'राजमार्ग बनाउनका लागि दुईवटा स्काभेटर र तीनवटा जेसिबी त्यतिकै राखिएका छन्। काम भएको छैन। गुल्मीतिर एउटा जेसिवी लगाएर सडक निर्माणको काम भने गरिरहेको छ।' उनका अनुसार झिमरुक गाउँपालिकाले सिमलटारी-सौतामारे-मच्छी सडकखण्डलाई वाग्दुलासम्म लैजाने माग भएको तर सुनुवाइ भएको पाइँदैन।

झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले आउने साउनसम्ममा राजमार्गअन्तर्गतको सिमलटारी-सौतामारे-मच्छीको सडकखण्ड पूरा गर्ने भने तापनि निर्माण व्यवसायीले काम नै नगरेको बताए। 'प्युठान, गुल्मी, अर्घाखाँची र बागलुङका स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने उक्त सडक अहिले काम अगाडि बढ्न नसकेर अलपत्र छ,' उनले भने, 'प्रमुख जिल्ला अधिकारीसहित पटक-पटक हामीले सडक निर्माण चाँडै गर्नुपर्‍यो भनेर छलफल पनि गर्‍यो। निर्माण कम्पनीले काम गर्छु भन्छ। तर गर्दैन।'

उनले सडकको काम अलपत्र पार्दा केही व्यक्तिका घर, जग्गा, खेतबारी खण्डहर बनेको समेत बताए। 'सडकको काम बीचमा त्यतिकै छाड्दा कसैका घर, बारी, खेत भासिएका छन्', उनले भने, 'दिनदिनै पालिकामा आएर क्षतिपूर्ति चाहियो भनेर स्थानीयले भनिरहेका छन्। निर्माण कम्पनीलाई क्षतिपूर्तिका लागि हामीले मागसमेत गरेका छौँ।'

मदन भण्डारी राजमार्ग गुल्मी योजना कार्यालयका प्रमुख रमेश चौधरीले सम्झौताअनुसार निर्माण व्यवसायीले काम नगरेको बताए। 'निर्माण व्यवसायी आफू आर्थिक संकटमा परेको हुनाले काम अगाडि बढाउन नसकेको बताउँदै आएको छ। सार्वजनिक खरिद ऐनअनुसार ठेक्का हाल्दा र पाउँदा रामो स्थिति रहेको थियो,' योजना प्रमुख चौधरीले भने, 'तर पछि कम्पनीको आर्थिक अवस्था नै डामाडोल रहेको छ, 'ठेकेदार कम्पनीले आफू आर्थिक संकटमा रहेको भनेर काम गरिरहेको छैन।'

दुई महिनाअघि आफूहरुले काम गरेको सात करोड रूपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गरेको उनी बताउँछन्। 'ठेकेदारको भुक्तानी एक महिना ढिलो भए पनि केही दिनअघि मात्र हामीले सात करोड रूपैयाँ दियौँ। भुक्तानी नपाएपछि काम गर्ने मजदूर पनि बिस्तारै आउन छाडेका थिए', उनले भने, 'तर पछि भुक्तानी गरिसकेपछि काम गर्ला कि भनेको त आफ्नो व्यक्तिगत कारण देखाउँदै निर्माण व्यवसायी काम गरेको छैन।'

योजना प्रमुख चौधरीले भुक्तानी पाएपछि अलिअलि ग्राभेल मात्र झारेर काम गरेजस्तो मात्र गरेको बताए। उनले निर्माण व्यवसायी सडक समयमा नै सम्पन्न गर्नका लागि प्रत्यक्ष भेटेर र पत्र पठाएर तोकेता गरिरहेको समेत जानकारी दिए।

काम अगाडि नबढाए ठेक्का रद्द

योजना प्रमुख चौधरीले सडक निर्माणको काम अगाडि नबढाएको हुनाले आफूहरुले काठमाडौंस्थित मदन भण्डारी राजमार्गको निर्देशनालयमा सम्झौता रद्द गर्नेबारे छलफलसमेत गरेको जानकारी दिए। 'हामीले ठेक्का रद्द गर्नेबारे छलफल पनि नगरेको होइन तर अर्को कुनै विकल्प अझै भेटिएको छैन,' उनले भने, 'यदि यही अवस्थामा काम अगाडि बढ्न सकेन भने ठेक्का रद्द गरेर अर्को विकल्पमा जानुपर्दछ।'

उनका अनुसार आगामी साउनमा काम सम्पन्न गर्नुपर्ने भए पनि अहिले २५ प्रतिशत भौतिक र २२ प्रतिशत वित्तीय प्रगति भएको छ। अहिले बाटोको छेउछाउ काट्ने र संरचना निर्माण गर्ने काम मात्र भएको छ। योजना प्रमुख चौधरीले बाटोको सतह मिलाउने, ग्राभेल गर्ने र कालोपत्र गर्ने काम अझै बाँकी रहेको बताउँछन्। उक्त सडकखण्ड करिब सात मिटर चौडाइ र दुवैतर्फ नाली चारमिटरको हुने छ। 

गुल्मीको मदाने गाउँपालिका-७ का स्थानीय खिमबहादुर जिसीले दुई महिनादेखि सडक निर्माणको काम ठप्प हुँदा स्थानीयलाई सास्ती भएको बताउँछन्। 'राजमार्ग बन्ने भएपछि हामी खुसी भएका थियौँ। काम पनि भइरहेको थियो', उनले भने, 'सडक निर्माणको काम भएको छैन। सडक जताजतै भत्काएर छाडिएको छ। खेत रोप्न पनि गाह्रोे हुन्छ। हामी धेरै अप्ठ्यारोमा परेका छौँ।' सडकको काम नहुँदा वर्षायाममा आउजाउमा समेत समस्या हुने उनी बताउँछन्।

प्युठानका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आयोजना प्रमुख र निर्माण व्यवसायीसँग सम्पर्क गरी सडक बनाउन पहल गरिरहेको बताउँछन्। 'मेरो केही दिन निर्माण व्यवसायीसँग कुरा हुँदा तत्काल काम सुरु गर्ने र वर्षायाममा उक्त सडकखण्डमा गाडी चल्न सक्ने बनाउने प्रतिबद्धता जनाउनुभएको छ', उनले भने।

प्रमुख जिल्ला अधिकारी नेपालले मदन भण्डारी राजमार्गको मात्र नभइ प्युठान जिल्लाका अधिकांश आयोजनाका ठेक्का लगाएका तर कामै नगरी भागेका निर्माण व्यवसायीको खोजी गरिरहेको बताए।

मदन भण्डारी राजमार्गको आयोजना निर्देशनालयका प्रमुख दीप बाराहीले समयमा नै निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसक्दा सम्झौताअनुसार सडक निर्माणको काम भनेजस्तो अगाडि नबढेको स्वीकार गरे। उनले सडकको काम समयमा नै सम्पन्न गर्नका लागि आफू लागिपरेको बताए।

सडक निर्माणको काम समयमा नै नसकेकाले ठेक्का तोडेर मात्र समस्याको समाधान नहुने भएकाले निर्माण व्यवसायीलाई दबाब दिएर र फकाएर काम गराउनुको विकल्प नभएको उनी बताउँछन्। 'हामीले सकेसम्म निर्माण व्यवसायीलाई नै फकाएर, दबाब दिएर र कालोसूचीमा राख्ने जस्ता चेतावनी दिएर काम अगाडि बढाउने सोचमा रहेका छौँ,' उनले भने, 'अहिलेको निर्माण व्यवसायीबाट हुँदै भएन भने अन्तिम विकल्प मात्र ठेक्का तोड्ने हो। तर हामी ठेक्का तोड्नेभन्दा उसैबाट काम गराउने पक्षमा रहेका छौँ।'

उनले गत भदौमा प्युठान र गुल्मीका सांसदसहितको छलफलमा सडक निर्माणको काम अगाडि बढे पनि पछिल्लो समय नै भुक्तानी समयमा नै दिन नसक्दा काम अगाडि नबढेको बताए।

'हामीले समयमा नै भुक्तानी दिन सकेनौँ। हामी पनि सडक निर्माणका सम्बन्धमा बजेट अभावले कहीँकतै चुकेका छौँ,' आयोजना प्रमुख वाराहीले भने, 'निर्माण व्यवसायीले काम गर्न आउँदा हामीले भुक्तानी दिन सकेनौँ। दुवै पक्षको कमजोरी देखिन्छ। तैपनि अहिले हामीले निरन्तर निर्माण कम्पनीलाई काम गर्न भनिरहेका छौँ। काम नगर्ने हो भने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्छौँ भनिरहेका छौँ। त्यति गर्दा पनि काम नभएको अवस्था हो।'

यो आलेख तयार पर्दा सडक निर्माणसम्बन्धी कुरा गर्न श्रेष्ठ-सक्षम निर्माण कम्पनी (जेभी)का प्रतिनिधिसँग पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। निर्देशनालयका अनुसार मदन भण्डारी राजमार्गको अहिलेसम्म ५१ प्रतिशत काम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८४/८५ सम्म काम सक्ने भने तापनि बजेट अभावले पूरा हुनेमा आशंका गरिएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend