बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३
कमिसनको चक्करमा मन्त्री

आइसोलेसनबाटै नयाँ क्यासिनोको लाइसेन्स बाँडेका पर्यटनमन्त्री आलेले पुरानो ८ क्यासिनोको नवीकरण फाइल रोके

बुधबार, माघ २६ २०७८
आइसोलेसनबाटै नयाँ क्यासिनोको लाइसेन्स बाँडेका पर्यटनमन्त्री आलेले पुरानो ८ क्यासिनोको नवीकरण फाइल रोके

काठमाडौं- कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेको बेला नयाँ क्यासिनो कम्पनीलाई सञ्चालनका लागि आवश्यक पूर्वस्वीकृति दिँदै एक सातामा अन्तिम लाइसेन्स दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पुरानो क्यासिनोको नवीकरण फाइल भने एक महिनादेखि रोकेर राखेका छन्।

पर्यटनमन्त्री आले आफूलाई कोरोना संक्रमण भएसँगै माघ ३ गतेदेखि होमआइसोलेसन बसेका थिए। आइसोलेसनमै बसेको बेला आलेले माघ ५ गते चिनियाँ लगानी रहेको वाल्डो डाइनाष्टि इन्टरटेनमेन्ट प्रालि नामको क्यासिनोलाई पाँचतारे होटल अलफ्टमा सञ्चालन गर्नका लागि पूर्वस्वीकृति दिएका थिए।

यसरी पूर्वस्वीकृति दिएको एक सातामै माघ १३ गते बिहीबार उक्त कम्पनीलाई क्यासिनो सञ्चालनको अन्मित स्वीकृति पनि दिएका थिए। उक्त क्यासिनोलाई अन्तिम लाइसेन्स दिएको फाइल पर्यटन मन्त्रालय आइपुगेको एक कर्मचारीले जानकारी दिए।

आलेले मन्त्रालयको जिम्मेवारी पाएको चार महिनामै ५ वटा नयाँ क्यासिनो सञ्चालनको लाइसेन्स दिइसकेका छन्। तर पुराना सञ्चालनमा रहेका ८ वटा क्यासिनो नवीकरण भने मन्त्री आलेले रोकेको विभागका एक कर्माचारीले जानकारी दिए।

‘मन्त्री आलेले कमिसनको चक्करमा नयाँ क्यासिनोको लाइसेन्स भटाभट बाँडिरहेका छन्। नयाँ लाइसेन्स पाएका कतिपयले त सामान्य पूर्वाधार समेत पूरा गरेका छैनन्’ विभाग एक कर्मचारीले भने, ‘पुरानो क्यासिनो नवीकरण गर्दा कमिसन नआउने भएपछि फाइल नै रोकेर राखेका छन्।’

व्यवसायीले नयाँ क्यासिनोले लाइसेन्स पाउँन ठूलै खर्च गरिरहेका छन्। क्यासिनो लाइसेन्सका लागि कतिपयले त दुई करोड रुपैयाँसम्म खर्च गरेको व्यवसायी नै बताउँछन्। एक व्यवसायीले क्यासिनो लाइसेन्सका लागि आफूहरूले सञ्चालनमा आएपछि कमिसन दिने बताउँदा पनि मन्त्री आलेले 'पछिको कुरा मलाई थाहा छैन अहिले नै हुनुपर्छ' भनेको बताएका छन्।

यतिसम्म कि मन्त्रालयका पूर्वसचिवहरूले मापदण्ड नै पूरा नभएको भन्दै रोकेको फाइलसमेत मागेर नयाँ क्यासिनोको लाइसेन्स जारी भएको ती कर्मचारी बताउँछन्।

तर चालु आर्थिक वर्ष २०७८/०७९ सम्मका लागि नवीकरण गर्दा तिर्नुपर्ने सबै रकम भुक्तानी गरेका ८ वटा क्यासिनो नवीकरणको फाइल मन्त्रालयमा मन्त्री आलेकै निर्देशनमा रोकिएको विभाग स्रोतको दाबी छ।

नवीकरणका लागि सबै प्रक्रिया पूरा गरेका व्यवसायीले अहिले विभागमा ताकेता दिन थालेका छन्। 

विभाग स्रोतका अनुसार मल्ल होटलमा क्यासिनो सञ्चालन गरिरहेको बेल्लिज नेपाल प्रालि, बन्द अन्नपूर्ण होटलमा क्यासिनो सञ्चालन गरिरहेको एटलान्टिक रिक्रियसन र तारागाउँ रिरेन्सी होटल (हायात रिजेन्सी)मा क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिएको प्राइड इन्टरटेनमेन्ट प्रालिको क्यासिनो लाइसेन्स नवीकरण फाइल रोकिएको छ।

यसैगरी होटल म्यारियटमा क्याासिनो सञ्चालन गरिरहेको डेन्टइन नेपाल प्रालि, इच्छा होटल सिमरामा क्यासिनो सञ्चालन गरिरहेको स्माइल कलेक्सन प्रालि र सोल्टी होटल लिमिटेडमा क्यासिनो सञ्चालन गरिरहेको माजोङ प्रालिको क्यासिनो लाइसेन्स नवीकरण रोकिएको विभागको भनाइ छ।

यसैगरी होटल सोल्टी शिवक्रिम होटेल्स तथा रिसोर्ट्स नेपालगञ्जमा क्यासिनो सञ्चालन गरिरहेको ईम्पेरियल प्रालि र भ्यू होटल सिद्धार्थ नेपालगञ्जमै क्यासिनो सञ्चालन गरिरहेको ज्याकपोट ग्यामिङ सेन्टरको क्यासिनो सञ्चालनको लाइसेन्स नवीकरण रोकिएको विभागको भनाइ छ।

सञ्चालनमा रहेका क्यासिनोको नविकरणका लागि सबै दस्तुर तिर्न पुस मसान्तसम्मको समय दिएको र उनीहरले पैसा तिरेपछि अनुगमन गरेर नविकरण गर्न उचित रहेको भन्दै विभागलाई प्रक्रिया अगाडि बढाउने सिफारिस गरेको मन्त्रायका सहसचिव होम प्रसाद लुइँटेलले जानकारी दिए। तर विभागबाट फाइल आफूँकहाँ अहिलेसम्म नआइपुगेको उनको दाबी छ। सबै प्रक्रिया पुरा भएपछि क्यासिनो सञ्चालनको लाइसेन्स नविकरण हुने उनको भनाइ छ।


प्रकाशित : बुधबार, माघ २६ २०७८०१:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend