बागलुङ- यहाँको काठेखोला गाउँपालिका स्थापनाको ९ वर्षसम्म भाडाकै घरमा छ। जिल्लाका १० स्थानीय तहमध्ये जग्गाको समेत टुंगो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको हो। मासिक ६० हजारका दरले भाडा दिँदै आएको पालिकाले स्थापनाकालदेखि ६० लाख रुपैयाँ भाडामा खर्चेको छ।
लामो समय हुँदासमेत पालिकाको आफ्नै भवन निर्माण नहुँदा स्थानीयले पालिकाप्रति प्रश्न गर्दै आएका छन्। जिल्लाका ७ पालिकाको आफ्नै भवन छ। २ पालिकाको भवन निर्माणको चरणमा छन्। तर, काठेखोला गाउँपालिकाले स्थापनाकालदेखि प्रशासकीय भवन निर्माणमा आवश्यक जग्गाको खोजी गरे पनि हालसम्म टुंगो लगाउन सकेको छैन।
निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो कार्यकाल आउँदासमेत पालिकाको भवन निर्माण नहुनु दुःखद भएको काठेखोला गाउँपालिका-२ अछेतेका गणेशबहादुर भण्डारीले बताउँछन्। पालिकाले ९ वर्षसम्म जग्गा र भवनको टुंगो लगाउन नसकेको उनको भनाइ छ।
‘जबसम्म गाउँपालिकाले पायक पर्ने स्थानमा भवन बनाउन सक्दैन, हामी नागरिकले प्रश्न गर्न छाड्दैनौँ, जिल्लाका अन्य पालिका आफ्नो भवनबाट सेवा दिइसक्दा समेत काठेखोला गाउँपालिका अझै भाडाकै घरमा छ’ भण्डारी भन्छन्, ‘गाउँपालिकालाई स्थानीयले देखाएको जग्गामा भवन बनाउन कस्ले रोक्यो, अछेते बजार नजिकै भवन बनाउँदा सबैलाई पायक पर्छ। सामुदायिक वनमा भवन बनाउने कुरा थियो, अहिलेसम्म पालिका निर्णयमा नपुग्दा नागरिकलाई सेवा प्रवाहमा समस्या भएको छ।’
गलकोट र जैमिनी नगरपालिकाको भवन निर्माणाधीन अवस्थामा छ। गत फागुनदेखि ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ। काठेखोलाको प्रशासनिक केन्द्रको विवाद ७ वर्षपछि टुंगोमा पुगे पनि पुनः मुद्दा परेर विवाद बढेको थियो। ९ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको छैन।
अघिल्लो पटक कार्यपालिकाको बैठकले वडा नम्बर ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको थियो। सामबोटमा भवन बनाउन कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारित गरेर १ करोड रकम विनियोजन गरे पनि सामुदायिक वनमा भवन बनाउन स्थानीयले अवरोध गरेको गाउँपालिकाका अध्यक्ष राजु थापा बताउँछन्।
बिहुँकोट सुलडाँडामा भाडाको घरबाट सेवा दिँदै आएको पालिकाले आगमी आर्थिक वर्ष भाडा तिर्न नपर्नेगरी विद्यालयको भवनमा सर्ने योजना बनाएको अध्यक्ष थापाले बताए। भीमसेन माध्यमिक विद्यालयको भवनबाट साउनदेखि गाउँपालिकाले सेवा दिनेगरी अहिले भवन फर्निसिङको काम भइरहेको छ। जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ।
दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाको जग्गा तथा भवन अझै टुंगो लगाउन सकेको छैन। त्यहाँका केही स्थानीयले सुलडाँडा र केहीले अक्षतेमा केन्द्र राख्ने भनेपछि विवाद भइरहेको छ। वडा नम्बर १, २, ३ र ४ ले अक्षते तथा वडा नम्बर ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्नाले भवन निर्माणमा ढिलाइ भएको हो। रासस