बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उद्यमी उमेश श्रेष्ठले सिरहामा सुरू गरे ७० बिगाहा जमिनमा कृषि फार्म

'हाइब्रिड नमुना कृषि फार्म' मा ५० करोड रूपैयाँ लगानी

मंगलबार, वैशाख १६ २०८२
उद्यमी उमेश श्रेष्ठले सिरहामा सुरू गरे ७० बिगाहा जमिनमा कृषि फार्म

कृषिमा एकपछि अर्को लगानी गर्दै आएका श्रेष्ठले यसअघि मुस्ताङ, जुम्ला, संखुवासभा, भोजपुर, चितवन र दोलखामा समेत कृषि फार्म सञ्चालन गरिसकेका छन्।

काठमाडौं- उद्यमी तथा नेपाली कांग्रेसका कोषाध्यक्षसमेत रहेका उमेश श्रेष्ठले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका-१२ र १३ मा फैलिएको करिब ७० बिगाहा जमिनमा 'हाइब्रिड नमुना कृषि फार्म' सञ्चालनमा ल्याएका छन्।

फार्ममा उन्नत जातका आँपसहित विभिन्न फलफूल खेती सुरु गरिएको छ। शनिबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको यस फार्मलाई आगामी दिनमा १०० बिगाहासम्म विस्तार गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिएका छन्।

व्यवसायी श्रेष्ठका अनुसार सो फार्ममा एकसय वटा भैँसीपालन समेत गरिनेछ। फार्ममार्फत सयौँ स्थानीयलाई रोजगारी दिने लक्ष्य राखिएको छ। कृषिमा एकपछि अर्को लगानी गर्दै आएका श्रेष्ठले यसअघि मुस्ताङ, जुम्ला, संखुवासभा, भोजपुर, चितवन र दोलखामा समेत कृषि फार्म सञ्चालन गरिसकेका छन्।

श्रेष्ठले यूभी होल्डिङ र यूभी एग्रो फार्ममार्फत लगानी भइरहेको जनाउँदै जमिनबाहेक ५० करोड रूपैयाँभन्दा बढी लगानी हुने अनुमान गरिएको बताए। उनका अनुसार तराई क्षेत्रमा पहिलोपटक यति ठूलो परिमाणमा उन्नत जातका आँप र फलफूल उत्पादन गर्ने नमुना फार्म बन्नेछ।

umesh sth.jpg

'तराईका कृषकले धेरैजसो बम्बै र मालदह जातका आँपमात्रै खेती गर्दै आएका छन्,' श्रेष्ठले भने, 'अब यहाँ अल्फानो म्याङ्गो, रेड म्याङ्गो, ब्ल्याक म्याङ्गोसहित दर्जनौँ नयाँ हाइब्रिड जातका आँप उत्पादन गरिनेछ।'

श्रेष्ठका अनुसार चीनमा फल्ने बेमौसमी आँपसमेत फार्ममा उत्पादन गरिनेछ। त्यसपछि स्थानीय कृषकहरूसँग सहकार्य गरी ३०० देखि १,००० बिगाहामा फैलिएको उन्नत खेती परियोजना विस्तार गरिने योजना रहेको छ। फार्ममा चाँडै फल्ने र ढिला फल्ने दुवैखाले आँप उत्पादन गरिनेछ। साथै, किलो अम्बा, १२ मासे कागती, सुन कागती, अमला तथा मेवाजस्ता फलफूलसमेत उत्पादन गरिनेछ।

श्रेष्ठले फार्मको भूमि बलौटे माटो भएकोले जुनसुकै उत्पादन सम्भव रहेको बताए। उनले भने, 'हरेक प्लटमा विभिन्न प्रकारका फलफूल रोपेर विशुद्ध कर्पोरेट कृषि फार्म निर्माण गरिन्छ।'

श्रेष्ठले आयात र ट्रेडिङ व्यवसायमा मात्रै निर्भर हुने र प्रवृत्तिलाई दोष दिँदै बस्नुभन्दा ढिलोचाँडो राज्य र उद्योगीहरू उत्पादनमुखी बन्नुको विकल्प नरहेको बताए।

उत्पादित फलफूल र अन्य कृषि सामग्री भाटभटेनी सुपरस्टोरमार्फत उपभोक्तासम्म पुर्‍याइनेछ। उनले सस्तो मूल्यमा बजारसम्म पुर्‍याउने गरी काम अगाडि बढाइएको बताए। हाल चक्लाबन्दी नीतिका कारण जग्गा खरिदमा कठिनाइ भएपछि फार्म भाडामा लिएर सञ्चालन गरिएको हो। फार्ममा भैँसी पालनमार्फत मलसमेत उत्पादन हुने र त्यसैबाट आवश्यक मल तथा अन्य सामग्री फार्ममै उत्पादन गर्ने योजना रहेको श्रेष्ठले जनाए।

श्रेष्ठले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग मिलेर देशका विभिन्न स्थानमा अत्याधुनिक 'मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर' निर्माणको कार्यसमेत अघि बढाएका छन्। हाल चितवनमा कोल्ड स्टोर निर्माण सुरु भइसकेको छ। यस परियोजनाले किसानले उत्पादन गरेको तरकारी र फलफूललाई सुरक्षित राख्न सहयोग गर्ने र बजारको अभावका कारण नष्ट हुने अवस्था कम गर्ने अपेक्षा गरिएको छ।

श्रेष्ठ र गुरुङले मुलुकका विभिन्न प्रमुख सहरमा अत्याधुनिक कोल्ड स्टोरहरू विस्तार गर्ने योजनाअनुसार कार्य अघि बढाइरहेका छन्।


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend