शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मुग्लिन-मलेखु सडक निर्माणले लिन सकेन गति, ८ महिना म्याद बाँकी रहँदा २९ प्रतिशतमात्र काम

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २९ २०८२
मुग्लिन-मलेखु सडक निर्माणले लिन सकेन गति, ८ महिना म्याद बाँकी रहँदा २९ प्रतिशतमात्र काम

यो खण्डमा २.२ किलोमिटर ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ। चार लेन सडक ७.२ किलोमिटर हुनेछ। यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ।

चितवन- सम्झौता म्याद सकिन आठ महिना बाँकी रहँदा मुग्लिन-मलेखु सडक स्तरोन्नतिको २९ प्रतिशतमात्र काम भएको छ। विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुङ्गा सडक खण्डलाई तीन खण्ड बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो प्याकेजमा पर्दछ। नागढुङ्गा-मुग्लिन सडक योजना, पश्चिम खण्डका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म २९ प्रतिशत प्रगति भएको छ। यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ।

शर्मा-जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो। दरैका अनुसार यस सडक खण्डको रमाइलो डाँडादेखि इच्छाकामना गाउँपालिका कार्यालय अघिसम्म ४.५ किमी चार लेन सडक दुईतर्फी कालोपत्र भइसकेको छ।

चुम्लिङटारमा २०० मिटर र फिस्लिङ बजारमा चार लेनमा १५० मिटर सडक कालोपत्र गरिएको उनले जानकारी दिए। विशालटार र मझिमटारमा कालोपत्र गर्नुअघिको ग्राभेल भइरहेको छ।

सो खण्डमा पर्ने ६ वटा पुलमध्ये चारवटा पुलमा बिम राख्ने तयारी गरिएको छ। दुईवटा पुलको फाउन्डेसनको काम भइरहेको छ। चितवनतर्फको बारवाङ् र मौवा खोला एवं धादिङतर्फको गौमती र खतौटीको पुलमा बिम राख्ने तयारी गरिएको छ। धादिङतर्फका चरौँदी र हुग्दीमा फाउन्डेसनको काम हुँदैछ।  

नागढुङ्गा-मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले पछिल्लो समय कामले गति लिएको दाबी गरे। विभिन्न बाधा अड्चनका कारण समयमा काम हुन नसकेको उनले स्वीकार गरे। उनका अनुसार स्थानीय तहबाट आवश्यकताअनुसार निर्माण सामग्री नपाउनु ढिलो हुनाको प्रमुख कारण भएको हो।

काम सुरु गर्दा सर्भे डिजाइनका क्रममा सात महिना ढिला भएको, अझै पनि विद्युत्को पोल सार्न नसकिएको, निर्माण कम्पनीले ठूला उपकरणहरु परिचालनमा ढिलाइ गरेको, घरटहराको क्षतिपूर्ति समयमा दिन नसकिएकोलगायतका कारण काममा ढिलाइ भएको उनको भनाइ छ।

असारसम्ममा चारवटा पुल सम्पन्न गर्ने र १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको नेपाल बताउँछन्। यससँगै असारसम्ममा ४५ प्रतिशत काम सम्पन्न हुने उनको भनाइ छ। यो खण्डमा २.२ किलोमिटर ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ। चार लेन सडक ७.२ किलोमिटर हुनेछ। यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ।

उकालो-ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किलोमिटर हुनेछ। बाँकी सडक डेडिकेटेड दुई लेनको हुने छ। यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो ।


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend