काठमाडौं- जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले हिलटन होटल खरिद बिक्री नभएको जनाएको छ। केही सञ्चारमाध्यमहरुले होटल खरिद बिक्री भएको समाचार प्रकाशन, प्रसारण गरेपनि त्यो सत्य नभएको जगदम्बा हस्पिटालिटी ग्रुपले प्रष्ट पारेको छ।
एक विज्ञप्ति जारी गर्दै भ्रामक र आधारहीन समाचारहरु प्रकाशन तथा प्रशारण गरी अफवाह फैलाएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। हिलटन होटल जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडद्धारा सञ्चालित अन्तर्राष्ट्रिय चेन होटल हो। कठमाडौंमा रहेको यो होटल बिक्रीका लागि कुनै पनि प्रकृयामा नगएको र यस विषयमा कहीँ कतै छलफलसमेत नभएको बताइएको छ।
‘राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडी हुँदै नभएको विषय सिर्जना गरी सार्वजनिक भएका यस्ता भ्रामक समाचारहरुले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्याउने कार्य भएको प्रति गम्भिर आपत्ति छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको प्रचलित कानून बमोजिम आवश्यक कानूनी प्रकृया अपनाइने ब्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौँ।’
यस्ता संवेदनशिल विषयमा आधिकारिक स्रोतबाट प्रमाणिकरण नभएका तथा अपुष्ट समाचार प्रकाशन र प्रशारण नगर्नसमेत हस्पिटालिटीले सञ्चारकर्मीहरु र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ। हिलटन होटल आफ्ना अतिथि, साझेदार र सम्पूर्ण हितग्राहीहरुलाई दीर्घकालिन सेवा र उच्चस्तरीय आतिथ्यता प्रदान गर्ने प्रतिबद्धतासहित सञ्चालनमा छ।