सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै सरोकार भएका निकाय एकजुट भएर अघि बढे विकास सम्भव हुने बताएका छन्। क्षेत्रीय होटलसँगको समन्वयमा चितवनले ‘घुमौँ सौराहा, चितवन अभियान’ भन्ने मूल नाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले त्यसतो बताएका हुन्।
साथै सबैबीच सहकार्य र समन्वय गर्दै मुलुक विकासमा जुट्नुपर्नेमा मुख्यमन्त्रीइ कँडेलले जोड दिएका छन्। सरकार र कर्मचारीले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकता त्यागेर विकास सबैको साझा विषय हो भनी एकजुट भएमा कामले गति लिने उनको भनाइ छ।
‘देश विकासका लागि सरकारको मुख्य भूमिका रहनुका साथै यसको गतिलाई प्रभावकारी रूपमा अगाडि बढाउन निजी क्षेत्रको पहलकदमी र भूमिका पनि महत्त्पूर्ण रहन्छ’ उनले भने, ‘संघीय प्रणालीमा व्यवस्था नयाँ, संरचना नयाँ निर्माण गरेका छौँ, ती संरचनालाई निर्देशित गर्ने कानून पुराना भएकाले जनताको चाहनाअनुसार काम गर्न समस्य भइरहेको छ।’
जनता र जनप्रतिनिधिको अपेक्षा अनुसारकानून नबन्दा समस्या भइरहेको भन्दै मुख्यमन्त्रीले पुराना कानूनलाई विस्थापित गर्न ढिला गर्न नहुनेमा जोड दिए। कर्णाली प्रदेशको अन्तरिक आम्दानी र विकासका लागि पर्यटन प्रवर्द्धन मुख्य आधार रहेको उनको भनाइ छ। साथै चितवनबाट कर्णालीसम्म आफ्नो व्यावसायिक महत्त्व झल्काउन आएका सबैलाई सहकार्य र समन्वयबाट अघि बढ्न मुख्यमन्त्रीले आग्रह गरेका छन्।
कर्णालीमा राराताल, फोक्सुण्डो ताल, छायाँनाथ, बाला त्रिपुरासुन्दरीलगायत पर्यटकीय क्षेत्र भएपनि विकासको मूलधारमा आउन नसक्दा ओझेलमा परेका छन्। कर्णाली करिडोर हुँदै रारा, भेरी करिडोर हुँदै डोल्पा जान सकिन्छ। ‘पर्यटकीय क्षेत्रको विकासमा सबै एकजुट भएर काम गर्नुपर्ने अहिलेको आवश्यकता हो’ मुख्यमन्त्री कँडेलले भने। रासस