शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण, तीन करोडभन्दा बढी खर्च

आइतबार, वैशाख २८ २०८२
गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण, तीन करोडभन्दा बढी खर्च

वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ।

बागलुङ- गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन्। वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन्। वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ।

दुईवटै स्वास्थ्य चौकी निर्माण अघिल्लो वर्ष सुरु गरिएको थियो। दुदिलाभाटी स्वास्थ्य चौकी २०८० मङ्सिरमा सम्झौता गरी काम सुरु भएको थियो। विष्णु निर्माण सेवाले एक करोड ८१ लाख ५८ हजार ६ सय ८० रूपैयाँ लागतमा निर्माणको जिम्मा पाएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए। उक्त भवन गत माघमा सम्पन्न भएको थियो।

मल्म स्वास्थ्य चौकी २०८० असारमा सम्झौता भइ काम सुरु भएको थियो। जयकालिका भगवती/केसी निर्माण सेवा जेभीले दुई करोड ३१ लाख ३६ हजार रूपैयाँको लागतमा निर्माण गर्नेगरी जिम्मा पाएको उक्त भवन गत वर्ष पुसमा सम्पन्न भएको थियो।

प्रवक्ता भण्डारीका अनुसार, गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ। पालिकाका सबै स्वास्थ्य चौकीको सुविधायुक्त भवन बने, यहाँबाट दिइने सेवालाई पनि गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ। आम नागरिकले विश्वास गर्नेगरी स्वास्थ्य संस्थाबाट सेवा दिने प्रयास भइरहेको छ। कोही बिरामी भए गाउँमै उपचार पाउने भएका छन्।

दुदिलाभाटी स्वास्थ्य चौकी प्रमुख याममाया रानाले ५० वर्ष अगाडि बनेको साँघुरो कच्ची भवनबाट सेवा प्रभावकारी हुन नसकेको बताए। एउटै कोठाबाट धेरै सेवा दिँदा बिरामीलाई लाइनमा बसाल्नुपर्ने समस्या भएको भन्दै अब उक्त समस्या समाधान हुने उनको भनाइ छ।

पालिकाको ११ वटै वडामा नगरपालिकाले स्वास्थ्य सेवा पुर्‍याएको छ। गलकोटमा एउटा नगर अस्पतालसहित १४ स्वास्थ्य संस्था रहेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए। उनका अनुसार नगरपालिकामा सात स्वास्थ्य चौकी, तीन सहरी स्वास्थ्य केन्द्र र तीन आधारभूत स्वाथ्य सेवा केन्द्र छन्। नगरपालिकाले नौ स्थानमा बर्थिक सेन्टर र पाँच स्वास्थ्य संस्थामा ल्याब सेवा दिँदै आएको छ।

गाउँ-गाउँमा स्वास्थ्य संस्था स्थापना गरी बर्थिङ सेन्टर सञ्चालन गरेपछि दूरदराजका नागरिकले सहज रूपमा सेवा पाउनुका साथै घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको प्रमुख पौडेलले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend