काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड पालना गर्न सरोकावाला सबैलाई आग्रह गरेका छन्। राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शनिबार आयोजना गरेको राष्ट्रिय निकुञ्जसम्बन्धी नीतिगत समस्या तथा सुझावको मस्यौदा प्रतिवेदनमाथि सरोकार भएका निकायका प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘मापदण्ड पालना नगर्दा अहिले देशभरि बाढीपहिरो, बेमौसमी अतिवर्षा, खडेरीलगायत प्राकृतिक विपदबाट पीडित हुनुपरेको यथार्थ हामीसामु भएकाले मापदण्ड पालनाका लागि आग्रह गर्छु’ अध्यक्ष दाहालले भने। उनले प्रकृतिको संरक्षण गरियो भने भावी पिँढीका लागि दिगो योजना निर्माण गर्न सहज हुने पनि बताएका छन्।
‘हामीलाई वन र वन्यजन्तुको संरक्षण गर्नुपर्ने अतिआवश्यक हुन्छ, फेरि प्रविधिमा आएको परिवर्तनले मानिसलाई सुविधाभोगी बनाएको छ’ उनली भन्छन्, ‘तसर्थ पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड पालना गर्नुपर्ने आवश्क छ।’ ती सुविधाहरूको उपभोग गर्न विकास अनिवार्य हुने बताउँदै अध्यक्ष दाहालले मापदण्ड पालन गर्दै विकास निर्माणलाई तीव्रता दिनपर्नेमा जोड दिए।
विकासको नाममा निम्तिने विनाश र संरक्षणलाई ठिक सन्तुलन मिलाउन सकिएन भने प्राकृतिक विपदले मुलुकलाई क्षतविक्षत् बनाउन सक्ने उनको भनाइ छ। ‘हामीले विकासका कार्य गर्दा विकासलाई दिगो र परिणाममुखी बनाएर संरक्षणसहितको विकासको ढाँचा बनाएर अघि बढ्नुपर्ने हुन्छ’ उनले थपे। अध्यक्ष दाहालले संरक्षणको कुरा गर्दा निरपेक्ष रूपमा विकासका कामलाई अगाडि बढाउँदा उपयोग र विकाससहितको संरक्षणमा ध्यान जान जरुरी रहेको उल्लेख गरेका छन्। संरक्षणलाई मानव जाति, वन तथा वातावरण र वन्यजन्तु सबैको हित हुनेगरी अगाडि बढाउन जरुरी रहनेमा उनको जोड छ।
‘अहिले जलवायु परिवर्तनको भयावह प्रभाव हामीले भोगिरहेका छौँ। साथै विकासका काम गर्दा ती विषयलाई पनि बिर्सनु हुँदैन’ अध्यक्ष दाहालले भने। चुरेमा पहिरो र मेलम्चीको बाढी मात्रै नभई गत वर्ष असोजमा काठमाडौं उपत्यकालगायतका विभिन्न क्षेत्रमा आएको बाढी र त्यसबाट भोगेका क्षतिलाई बिर्सेर विकासका नाममा प्राकृतिक सुन्दरता, वनजंगल र पहाडलाई कुरुप बनाउने गरी गतिविधि गरिरहे भविष्यमा त्योभन्दा ठूलाठूला विपदको सामना गर्नुपर्ने उनले उल्लेख गरे।
‘हाम्रोजस्तो विकासोन्मुख देशमा वनजंगल, वन्यजन्तु र प्रकृतिको संरक्षण गर्ने नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानेर अतिआवश्यक विकास निर्माणका काममा दिगो नतिजा आउने गरी कार्यक्रम गर्नुपर्ने हुन्छ’ उनले भने। साथै अनिवार्य रूपमा गर्नुपर्ने पूर्वाधार निर्माणमा दिगो विकासका अवधारण कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता अध्यक्ष दाहालले औँल्याएका छन्। रासस