शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

निर्माण सुरू भएको २३ वर्षपछि हुलाकी सडक बन्दा सुगम भयो नरैनापुर

शनिबार, वैशाख २७ २०८२
निर्माण सुरू भएको २३ वर्षपछि हुलाकी सडक बन्दा सुगम भयो नरैनापुर

करिब २३ वर्ष अघिदेखि सडक निर्माण सुरू भए पनि पटक-पटकको अवरोध र अनिश्चितताका बीच नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको छ।

बाँके- बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ। सडक निर्माणसँगै अहिले नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगञ्ज पुग्न सकिने नरैनापुर गाउँपालिका-४ निवासी ताजमोहम्मद खानले बताउँछन्।

‘हुलाकी सडक निर्माण नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ’ उनी भन्छन्, ‘हुलाकी सडक नरैनापुरवासीको लाइफलाइन बनेको छ।’ सडक निर्माण पछि नेपालगञ्जबाट नरैनापुरको सीमावर्ती क्षेत्र सुईया बघौडासम्म दैनिक रूपमा ४ वटासम्म सार्वजनिक यात्रुबाहक बस सञ्चालन हुन थालेका छन्। साथै नरैनापुरवासीको स्वास्थ्य र शिक्षामा सहज पहुँच पुगेको नरैनापुर-६ का अगुवा सोहनलाल यादवको भनाइ छ।

‘पहिला बिरामीलाई अस्पताल पुर्‍याउन धेरै कठिन हुन्थ्यो, अहिले गाउँघरमै एम्बुलेन्स पुग्ने भएकाले बिरामीलाई सजिलै नेपालगञ्जका अस्पतालमा लैजान सकिन्छ’ यादव भन्छन्, ‘नरैनापुरमा अहिलेसम्म उच्च शिक्षा अध्ययनका लागि क्याम्पस छैन, हुलाकी सडक बनेपछि विद्यार्थीलाई नेपालगञ्ज पढ्न जान आउन धेरै सजिलो भएको छ।’

विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगञ्जसँग सिधा सम्पर्क गराएको यादवले बताए। साथै गाउँपालिकाले हुलाकी सडकदेखि भित्री गाउँसम्म पुग्ने सडक निर्माणमा ध्यान दिनुपर्ने उनको माग छ। नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले हुलाकी सडक निर्माण भएसँगै नरैनापुरवासीको जीवनयापनमा आमूल परिवर्तन आएको बताउँछन्।

पालिकाका ६ वटै वडाका गाउँबस्तीसम्म पुग्ने सडक निर्माणलाई आफूले प्राथमिकता दिएको अध्यक्षको दाबी छ।बहुप्रतीक्षित नेपालगञ्ज-बघौडा सडक निर्माण चर्चा सुरू भएको दुईदशक बढी समयपछि निर्माण सम्पन्न भएको हो। करिब २३ वर्ष अघिदेखि सडक निर्माण सुरू भए पनि पटक-पटकको अवरोध र अनिश्चितताका बीच नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको छ।

बाँके क्षेत्र नम्बर १ का संघीय सांसद सूर्य ढकाल हुलाकी सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र चासो देखाएको बताउँछन्। अहिले हुलाकी सडक निर्माणले यहाँका नागरिकलाई विकासको अनुभूति गराएको सांसद ढकालले बताए। रासस 


प्रकाशित : शनिबार, वैशाख २७ २०८२१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend