जुम्ला- जुम्लाको गुठीचौर गाउँपालिका-१ का ४८० घरधुरी ३ महिनादेखि विद्युत विहीन भएका छन्। यस वडामा रहेको अदालीखोला लघुजलविद्युत आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि विद्युत आपूर्ति बन्द छ।
जसका कारण नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा विद्युत विहीन भएका स्थानीय परेक ऐडीले बताए। गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प छ। तर, मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ।
बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी-पिसानी मिल र स्थानीय फर्निचर उद्योगलगायतमा असर परेको अर्का स्थानीय गणेश ऐडी बताउँछन्। आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको जानकारी दिए।
गुठीचौर गाउँपालिका-१ का वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार आयोजना मर्मतका लागि स्थानीय सरकारले ३ लाख रुपैयाँ विनियोजन गरेको छ। आवश्यक परे थप बजेटको व्यवस्थापन गरिने वडा अध्यक्षको भनाइ छ। अब चाँडै विद्युत सेवा सञ्चालनका लागि आवश्यक काम हुने वडा कार्यालयले जनाएको छ। रासस