काठमाडौं- सांसदहरुले गोरखाको बारपाकमा भूकम्पपछि पुनःनिर्माण भएका घरहरु मौलिक र प्राचीनयुक्त नभएको बताएका छन्। राष्ट्रियसभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बुधबारको बैठकमा सांसदहरुले यस्तो बताएका हुन्।
बारपाक क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षामा उनीहरुले पुनःनिर्माणमा ग्रामीण भेगको मौलिकता नपाइएको टिप्पणी गरे। भूकम्पपछिको पुनःनिर्माण अवस्था र स्थानीय तहको भूमिका कस्तो छ? पुनःनिर्माणपछि सर्वसाधारणको धारणालगायतका कुरा थाहा पाउन संसदको टोली बारपाक भ्रमण गएको थियो।
मदनकुमारी शाहले भवनको डिजाइन् र नक्सा समयमा आउन नसक्दा वर्षौँसम्म पालमा बस्नुपरेको र बारपाकमा अझै पुनःनिर्माण पूरा नभएको बताइन्। साथै भएका पुनःनिर्माणमा मौलिकता नभएको सर्वसाधारणको गुनासो रहेको उनको भनाइ छ।
‘बारपाकमा ३ दलित परिवार अझै भूमिहीन रहेछन्, सरकारले सार्वजनिक भवन बनाउन रकम दिने तर जग्गा चाहीँ छैन। जग्गा किन्नलाई पहिला बजेट छुट्याउनुपर्ने होइन र?’ प्रश्न गर्दै उनी भन्छिन्, ‘दशक बित्दा पनि पुनःनिर्माण सकिएन, जाजरकोटका भूकम्पपिडतको अवस्था पनि उस्तै हुने हो कि भन्ने चिन्ता छ।’
सांसद पदमबहादुर परियारले पनि बारपाकमा अझै ४ घरको पुनःनिर्माण सम्पन्न नहुँदा अस्थायी आवासमा बस्नु परेको बताए। साथै चाँडोभन्दा चाँडो ति घर पुनःनिर्माण सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन्। रासस