सिन्धुपाल्चोक- पानीका मुहान सुक्दै गएपछि जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले रिचार्ज पोखरी निर्माणलाई तीव्रता दिएको छ। पानीको मुहान संरक्षण गर्ने उद्देश्यले नगरभित्रका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई तीव्रता दिइएको हो।
नगर उपप्रमुख सीता थापाका अनुसार हरेक वर्ष नगरपालिकाले नीति तथा कार्यक्रममार्फत रिचार्ज पोखरी निर्माणका लागि सम्बोधन गरी बजेटसमेत विनियोजन गर्दै आएको छ। नगरपालिकाभित्र पाँच सयभन्दा बढी रिचार्ज पोखरी निर्माण सम्पन्न भइसकेका उनले जानकारी दिइन्। निर्माण सम्पन्न भएकामध्ये करिब ९० प्रतिशत रिचार्ज पोखरी वडन नं ११ मा रहेका भन्दै अन्य स्थानमा पनि काम थालिएको उनले बताइन्।
'पानीको मुहान रहेको शीरमा पोखरी खनिएको छ। त्यो पोखरीमा बर्खामा आकाशबाट झरेको पानी जम्मा हुने गर्दछ। भिरालो जमिनमा खसेको पानी बगेर पोखरीमा जम्मा गरिएको हो। पोखरीमा बाह्रैमास पानी भएपछि आसपासका क्षेत्र रसाउने, जमिन सुख्खा नहुने भएकाले मूल पलाउने विश्वास गरिएको छ', नगर उपप्रमुख थापाले भनिन्।
पोखरी निर्माण गरिएका स्थानमा सम्भावित खतरा हुनबाट जोगाउन घेराबारसमेत लगाइने गरिएको छ। काँडेतारको बार लगाएर घेराबार हालिएको बताउँदै उनले जंगली जनावर तथा बालबालिकाको सुरक्षालाई लक्षित गरी बार लगाइएको उल्लेख गरिन्।
शीरमा बर्खाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुने गर्दछ। पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि मूल सुक्न थालेका छन्। निर्मित रिचार्ज पोखरीका कारण पानीको मुहानहरू संरक्षण हुनका साथै लुकेका मूलबाट पानी पलाउने विश्वास स्थानीयले गरेका छन्।
अहिले सार्वजनिक स्थान, सामुदायिक वन र प्रमुख सडक आसपास क्षेत्रमा रिचार्ज पोखरी बनाइएको छ। पछिल्लोपटक वडा नं ११ ले चौतारा-बन्देऊ खण्डसँग जोडिएका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई प्राथमिकतामा राखिएको नगर कार्यालयले जनाएको छ।
सडकसँगै रिचार्ज पोखरी निर्माण गर्दा एकातिर पानी पुनःर्भरण भएर जमिन रसाउने र अर्कोतर्फ सडक, नालाको भल पोखरीमा भरण हुँदा जमिन कटानी न्यूनीकरणमा सघाउ पुग्ने गरी सडक नजिक रिचार्ज पोखरी निर्माण गरिएको वडाध्यक्ष रोशनराज गिरीले बताए। उनका अनुसार यो सडक छेउमा पर्ने नालीलाई लक्षित गरेर पोखरी निर्माण गरिएको हो।
भलसँगै बगेर आएको पातपतंगर संकलन गर्दै कम्पोष्ट मल बनाउनका लागि पनि वडा लागिपरेको गिरीले उल्लेख गरे। वडा नं ११ ले रिचार्ज पोखरी मात्र हैन किसानलाई सहजताका लागि रोपाइँ पोखरी पनि निर्माण गर्दै आएको छ। रासस