काठमाडौं- सांसद उपेन्द्र यादवले नीति तथा कार्यक्रम गरिब, किसान, निम्नवर्गका लागि सहयोग पुग्ने खालको हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद यादवले देशलाई अगाडि बढाउनका आवश्यकपर्ने नीति तथा कार्यक्रम जरूरी भएको बताएका हुन्।
सांसद अब्दुल खानले जनताको चाहाना र आवश्यकताअुनसार नीति तथा कार्यक्रम आउनुपर्ने र एक वर्षमा केके गर्न सकिन्छ भनेर जनतालाई सेवा दिने खालको हुनुपर्ने बताए। सांसद मोहनबहादुर बस्नेतले नीति तथा कार्यक्रम धेरै राम्रो आएको भएपनि योजनालाई प्राथमिकीकरण गरेर लैजानुपर्ने सुझाव दिए।
उनले वर्षातको समयमा बाढी पहिरोले धेरै धनजनको नोक्सान पार्ने भएकाले सुरूमै त्यसको तयारीमा लाग्नुपर्ने भनाइ राखे। सांसद भानुभक्त जोशीले नीति तथा कार्यक्रमले संघ, प्रदेश र स्थानीय तह मिलेर धेरै काम गर्ने भनेर लेखिएको भए पनि धेरै कानुन बनाउन नसक्दा समस्या परेको विषय ध्यान दिन सुझाव दिएका छन्।
सांसद भगवती चौधरीले सामाजिक न्यायसहित नीति तथा कार्यक्रम आएको र योजनाको आवश्यकताको आधारमा प्राथमिकीकरण गरेर ल्याउनुपर्ने बताइन्। सांसद छिरिङलामु लामा तामाङले संघीयता सुदृढ बनाउने खालको नीति तथा कार्यक्रम बनाउनुपर्ने भए पनि ठोस योजना नआएको बताए। साथै ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था सुधार गर्ने विषयमा स्पष्ट नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद वीरबहादुर बलायरले ११ लाख मेट्रिक टन रसायनिक मल चाहिनेमा साढे ३ लाख ल्याउने गरेको हुँदा सधैं मलको हाहाकार हुने गरेको बताए। जसका लागि ३ अर्बमा कम्तीमा १० अर्बको प्रारांगारिक मल तयार गर्न सुझाव दिएका छन्। उनले प्रांगारिका मल बनाउने धेरै तरिका भएको र त्यसले धेरै पैसा बचत तथा उत्पादन राम्रो हुने उनको भनाइ छ।
सांसद राजेन्द्रकुमार राईले पहाडी र हिमाली क्षेत्रमा सन्तुलन कायम गर्नुपर्ने जरूरी भएको धारणा राखेका छन्। उनले त्यहाँका जनतालाई त्यही ठाउँमा राख्नका लागि शिक्षा, स्वास्थ्य आदिको व्यवस्था गर्न आवश्यक भएको बताए। साथै धनकुटामा एउटा मेडिकल कलेज जरूरी भएको र त्यहाँ पढ्नेलाई त्यही व्यवस्था गर्नुपर्ने अन्यथा गाउँ रित्तिने जोखिम बढ्नेतर्फ सरकारलाई सचेत गराएका छन्।
सांसद डिगबहादुर लिम्बुले नीति तथा कार्यक्रममा युवालाई स्वदेशमै बस्ने वातावरणको निर्माण गर्नुपर्ने र रोजगारीका लागि विदेश जाने वातावरणको सिर्जना गर्न नहुनेमा जोड दिए। सांसद तारा लामा तामाङले नीति तथा कार्यक्रम यर्थाथमा आधारित भएर आएको बताएका छन्। साथै कति वर्षमा काम गर्न सकिन्छ भनेर राखिएको तथा अनावश्यक संरचनालाई खारेज गर्ने तयारी राम्रो भएको बताए।
सांसद मैना थापाले संक्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिँदै दुवै आयोगमा निस्पक्ष र विश्सनीय पदाधिकारी नियुक्ति गर्नुपर्ने माग गरिन्। सांसद सीता मिजारले नैतिक, व्यवहारिक, प्राविधिक शिक्षा दिएर युवालाई रोजगार दिनुपर्ने विषयमा ध्यान दिनुपर्ने बताएकाी छन्। सरकारले रोजगारी दशक घोषणा गरेअनुसार नीति तथा कार्यक्रममा आउनुपर्नेमा उनको जोड छ।
सांसद सूर्यप्रसाद ढकालले संविधानको मर्म र भावनाअनुसार नीति तथा कार्यक्रम आएको जनाएका छन्। त्यस्तै बजेटले चालु खर्च कटौती गरेर पुँजिगत खर्च वृद्धि गर्ने दृष्टिकोणबाट अघि बढेको दाबी गरे। सांसद प्रतिमा गौतमले विकास आयोजनाका लागि छुट्टै कोषको स्थापना गर्ने भनिएको भए पनि अन्य चालु कोषको अवस्थाबारे सदनलाई जानकारी नभएको बताइन्। सबै नेपालीलाई खानेपानीको पहुँच पुर्याउने भन्ने नीति तथा कार्यक्रममा आउने तर धारामा पानी नआउने गरेको उनको भनाइ छ।
सांसद ऋषिकेस पोखरेलले विद्यालय शिक्षा बदल्नका लागि एउटै पाठ्यपुस्तक सरकारी तथा नीजि क्षेत्रको विद्यालयमा हुनुपर्ने धारणा राखेका छन्। त्यस्तै स्वास्थ्य क्षेत्रमा भएको विभेद पनि अन्त्य गरी एउटै बनाउनुपर्ने उनको भनाइ छ। प्रतिनिधिसभाको अर्को बैठक बैशाख २४ गते बिहान ११ बजे बस्नेछ। रासस