मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

बजेटको छलफल गर्न अर्थमन्त्री पौडेल प्रचण्ड निवासमा

मंगलबार, वैशाख २३ २०८२
बजेटको छलफल गर्न अर्थमन्त्री पौडेल प्रचण्ड निवासमा

अर्थ मन्त्रालयले आगामी जेठ १५ गते संसद्‌मा बजेट पेस गर्ने तयारी गरिरहेको छ। सो सन्दर्भमा अर्थमन्त्री पौडेलले सबै पूर्वप्रधानमन्त्रीहरूसँग व्यक्तिगतरूपमा भेट गरी सुझाव संकलन गर्ने रणनीतिअनुसार छलफललाई अगाडि बढाइरहेका छन्।

काठमाडौं- आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी तीव्र भइरहेका बेला अर्थमन्त्री विष्णु पौडेल प्रमुख दलका नेताहरूसँग निरन्तर छलफलमा जुटिरहेका छन्। यसै क्रममा आइतबार बिहान एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेलले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

प्रचण्ड निवास खुमलटार पुगेर गरिएको भेटमा बजेटको विषयमा केन्द्रित छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 'कुनै राजनीतिक विषयमा कुराकानी भएको होइन,' सचिवालय स्रोतले भन्यो, 'अर्थमन्त्रीले बजेटका सन्दर्भमा सुझाव लिनुभएको हो।'

यसअघि सोमबारमात्र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग समेत अर्थमन्त्री पौडेलले भेट गरेका थिए। सो भेटमा पनि बजेटको प्राथमिकता, संघीयता कार्यान्वयन र आर्थिक सुधारका विषयमा छलफल भएको थियो।

अर्थ मन्त्रालयले आगामी जेठ १५ गते संसद्‌मा बजेट पेस गर्ने तयारी गरिरहेको छ। सो सन्दर्भमा अर्थमन्त्री पौडेलले सबै पूर्वप्रधानमन्त्रीहरूसँग व्यक्तिगतरूपमा भेट गरी सुझाव संकलन गर्ने रणनीति अनुसार छलफललाई अगाडि बढाइरहेका छन्।

सरकारले आर्थिक सुस्तता, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र संघीय प्रणालीको प्रभावकारी कार्यान्वयनलाई आगामी बजेटको प्राथमिकतामा राख्ने संकेत दिएको छ। यी विषयमा पूर्वप्रधानमन्त्रीहरूको अनुभव र दृष्टिकोणले नीति निर्माणमा टेवा पुग्ने विश्वास मन्त्रालयले लिएको छ।

अर्थमन्त्री पौडेलले आगामी दिनमा अन्य पूर्वप्रधानमन्त्रीहरूसँग पनि चरणबद्ध रूपमा भेट गर्ने तयारी गरेका छन्।

अर्थतन्त्रको पुनरुत्थान र दिगो विकास सुनिश्चित गर्न सन्देशमूलक बजेट ल्याउने सरकारको तयारीबीच शीर्ष नेताहरूसँगको भेटलाई नीति समन्वय र सहकार्यको प्रयासका रूपमा हेरिएको छ।


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend