मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

एक करोड ४८ लाख रूपैयाँ लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

मंगलबार, वैशाख २३ २०८२
एक करोड ४८ लाख रूपैयाँ लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

आर्थिक वर्ष २०७९/८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो।

म्याग्दी- रघुगंगा गाउँपालिका-५ झिँमा एक करोड ४८ लाख रूपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ। आर्थिक वर्ष २०७९/८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो।

आव २०७९/ ८० मा ५० लाख रूपैयाँ लागतमा उपभोक्ता समितिमार्फत पाँचकोठे भवनको पहिलो तला ढलान भएको थियो। ७१ लाख ६६ हजार ४ सय १५ रूपैयाँमा २०८० चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एकसय २० जना क्षमताको सभाहल, रङरोगन, विद्युत्, पानी, फर्निचरको काम गरेको थियो।

चालु आर्थिक वर्षमा विनियोजन भएको २७ लाख रूपैयाँ बजेटबाट घेराबार गरेर पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए। भवन निर्माण गर्न ५९ लाख रूपैयाँ खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो। भाडाको घरमा सञ्चालित वडा कार्यालय नयाँ भवनमा सारिएको छ। नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको छ। भाडाका लागि भइरहेको खर्च बचत भएको वडाध्यक्ष शेरपुञ्जाले बताए।

आठवटा वडा रहेको गाउँपालिकाले यसअघि पाखापानीमा वडा नं ६ र भगवतीमा वडा नं २ का लागि भवन निर्माण गरेको थियो। वडा नं ७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ। वडा नं १ बेगखोला, वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन्।

मौवाफाँटमा सभाहलसहितको भवन बनाएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए। एक करोड १५ लाख ८६ हजार ४ सय ४७ रूपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो।

ठेक्का प्रक्रियामा १० वटा निर्माण कम्पनी सहभागी भएका थिए। आगामी वर्ष पनि बजेट विनियोजन गरेर भवन निर्माणलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend