कञ्चनपुर- कृष्णपुर नगरपालिका-२ स्थित मुक्तकमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ। पाहुनालाई थारु समुदायको परम्परागत मौलिक खानाको जोहो गर्ने, पकाउने, खुवाउनमै दिन बितेको उनलाई पत्तै हुँदैन। उनले नौ वर्षदेखि यही काम गर्दै आएकी छिन्।
उनीजस्तै मुक्तकमैया परिवारका पाँच महिला मिलेर गाउँमा विजयसाल घरबास सञ्चालन गरेका छन्। घरबास सञ्चालन गरेपछि उनीहरुले पैसाका लागि श्रीमानको मुख ताक्नु परेको छैन। घरबासमा विदेशीदेखि स्वदेशी पाहुना थारु परिकार चाख्न आउँछन्।
घरबासमा आउने विदेशीको तुलनामा स्वदेशी पाहुनाको सङ्ख्या अधिक रहने उनी बताउँछिन्।
थारु समुदायको मौलिक खान्कीका रूपमा पतौला, मिसौला, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिका माछा, ढिक्री, अन्तीधानको भात, हरियो सागसब्जी, लसुनको चटनी, घोँगीलगायत परिकार पाहुनाको रोजाइमा पर्ने गर्दछ।
'घरबासको कमाइ पाहुनामा निर्भर हुन्छ', चौधरीले भनिन, 'कुनै महिना धेरै कमाइ हुन्छ, कुनै महिना थोरै।' औसतमा मासिक ३० हजार रूपैयाँदेखि ३५ हजार रूपैयाँसम्म कमाइ हुने गरेको उनले बताइन्।
पाहुना बस्नका लागि थारु शैलीका सुविधा सम्पन्न पाँच घर निर्माण गरिएका छन्। एक घरमा दुईदेखि चार जनासम्म पाहुना राख्न सकिने व्यवस्था छ। 'घरबासमा पाहुना आएमा पालो मिलाएर राख्छौँ,' उनले भनिन्, 'पाहुनाको सेवा सत्कारमा एकले अर्कालाई सहयोग गर्छौँ।'
उनका अनुसार पाहुनाको मागअनुसार परम्परागत पहिरन र आभूषणमा सजिएर पौराणिक नृत्य सखिया, झुम्रा, हुरदङ्गवा, लठ्ठि, दिन नचवालगायत देखाउने गर्दछन्। त्यसका लागि नृत्य टोलीनै गठन गरिएको छ। नृत्य देखाएबापत एक हजार ५ सय रूपैयाँदेखि तीन हजार रूपैयाँसम्म शुल्क लिने गरिएको छ।
उनीहरुले प्रांगारिक मल प्रयोग गरी उत्पादन गरेको तरकारी, अन्ती धानको चामल, स्थानीय जातका कुखुरा, बंगुर घरबासमा बस्न आउने पाहुनालाई खुवाउने गर्दछन्। तरकारी, अन्न उत्पादनसँगै कुखुरा र बंगुरपालनमा घरका पुरुषले सहयोग गर्ने गरेको चौधरीले बताइन्।
घरबास सञ्चालित गाउँमा नगरपालिकाले प्रवेशद्वार र गोलघर निर्माण गरेको छ। वडा कार्यालयले प्रत्येक घरमा ‘वाइफाइ’ जडान गरेको छ, भने ताल नामक गैरसरकारी संस्थाले घरबास सञ्चालकलाई फर्निचर र होर्डिङ बोर्ड राख्न सहयोग गरेको छ।
घुम्ने इच्छा भएका पाहुनालाई नजिकैको जनहित महाकाली सामुदायिक वनभित्रको सिस्ने सिमसार क्षेत्रमा घुमाउने प्रबन्ध गरिएको घरबास सञ्चालक राजकुमारी चौधरीले बताइन्। धेरै पाहुना घरबासमा बसेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेका छन्।
घरबासमा आउने पाहुना फर्किँदा विजयसालका भाँडा खरिद गरेर लैजाने गर्छन्। घरबासमा संलग्न महिलाले बहुऔषधीय गुणयुक्त विजयसाल संरक्षण गर्दै आएका छन्। सामुदायिक वनसँग समन्वय गरेर रोपिएका विजयसालका बिरुवा, रुखका ‘प्लट’ पाहुनालाई अवलोकन गराउन छुटाउँदैनन्। विसं २०७३ मा विधिवत रूपमा घरबास दर्ता गरी सञ्चालनमा ल्याइएको हो।
घरबास सञ्चालनमा ल्याएपछि मजदुरी गर्नु नपरेको स्थानीय लीला चौधरी बताउँछिन्। 'मजदुरी गरेर आउने रकमले परिवारको खर्च चलाउन धौ धौ हुन्थ्यो', उनले विगत सम्झँदै भनिन्, 'घरबास सञ्चालनमा आएपछि ती दुःखका दिनको अन्त्य भएको छ, पैसाका लागि अरुसँग हात थाप्नु परेको छैन।'
घरबास सञ्चालन गर्नुअघि ती महिलाहरु श्रीमानसँगै मजदुरी गरी जीविका चलाउँथे। घरबासबाट आएको आम्दानीको केही रकम महिलाले गाउँकै सहकारीमा बचत गर्ने गरेका छन्।
प्रचारप्रसारमा जोड दिन सके घरबासमा धेरै पाहुना भित्र्याउन सकिने सो वडाका वडा अध्यक्ष अर्जुन साउद बताउँछन्। प्रचारप्रचारसँगै मौलिकतालाई निर्खान थप काम अगाडि बढाउने योजना रहेको उनले बताए। रासस