शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु, ४१ लाखमा ठेक्का सम्झौता

सोमबार, वैशाख २२ २०८२
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु, ४१ लाखमा ठेक्का सम्झौता

'बन्दरगाह निमार्णका लागि एक हजार ५ सय ९३ रुख काट्नुपर्ने छ। रुख कटानका लागि ४१ लाखमा ठेक्का सम्झौता भएको छ।'

महेन्द्रनगर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्थित सुक्खा बन्दरगाह निमार्णका लागि रुख कटानको काम सुरु भएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले एक साता अघिदेखि रुख कटानको काम जानकारी दिए।

'एक हप्ता अघिदेखि रुख कटानको काम सुरु भएको हो। अहिलेसम्म पाँचसय रुख कटान भइसकेका छन्', उनले भने, 'बन्दरगाह निमार्णका लागि एक हजार ५ सय ९३ रुख काट्नुपर्ने छ।'

उनका अनुसार रुख कटानका लागि ४१ लाखमा ठेक्का सम्झौता भएको छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार दुवै तर्फबाट काम भइरहेको छ।

भारतीय पक्षले बन्दरगाह निमार्णका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार रूपैयाँ भारतीय रूपैयाँँ लागतमा बोलपत्र आह्वान गरिसकेको छ। सुक्खा बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्णको काम सुरु हुनेछ।

बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। नेपालले सुक्खा बन्दरगाहसम्मको ६ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ। भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ।

२०६४ सालमा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो। सरकारले घोषणा गरेको अठार वर्षपछि सुक्खा बन्दरगाह निमार्णको कामले गति लिएको हो। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend