बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

यातायात व्यवस्था कार्यालय झापाद्वारा नौ महिनामा ८२ करोडभन्दा बढी राजस्व संकलन

सोमबार, वैशाख २२ २०८२
यातायात व्यवस्था कार्यालय झापाद्वारा नौ महिनामा ८२ करोडभन्दा बढी राजस्व संकलन

कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एकसय १६ रूपैयाँ राजस्व संकलन गरेको छ।

झापा- यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१/८२ को नौ महिनामा ८२ करोड १६ लाख ४८ हजार चारसय दुई रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एकसय १६ रूपैयाँ राजस्व संकलन गरेको छ।

चालु आवको चैत महिनासम्म सवारी साधनको कर संकलनबापत ६९ करोड ६ लाख २२ हजार पाँचसय ४२ रूपैयाँ, यातायात क्षेत्रको आम्दानीबापत ९६ लाख ६० हजार ६ सय ६७ रूपैयाँ, सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत १२ करोड १२ लाख ८९ हजार ६ सय ५१ रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए।

चालु आवको नौ महिनामा जिल्लामा नौ हजार नौ सय ५४ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख सापकोटाले बताए। उनका अनुसार गत आव २०८०/८१ को अन्त्यसम्ममा जिल्लामा दुई लाख ६ हजार आठसय ८४ सवारी साधन दर्ता रहेका थिए।

कार्यालय प्रमुख सापकोटाका अनुसार चालु आवको नौ महिनामा सबैभन्दा धेरै नयाँ मोटरसाइकल तीन हजार दुई सय ३६ दर्ता भएका छन्।

यसैगरी, ई-रिक्सा दुई हजार पाँच सय ४९, स्कुटर दुई हजार तीनसय ४५, ई-स्कुटर पाँचसय ७९, कार एकसय ८०, ट्र्याक्टर एकसय ७६, जिप एकसय ६८, बस एकसय आठ, ई-कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९, एम्बुलेन्स चारवटा नयाँ दर्ता भएका छन्। रासस


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend