बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

मोलुङ करिडोर सडक निर्माण : हरिबोले भिरको चट्टान फोर्न केमिकलको प्रयोग गरिने

सोमबार, वैशाख २२ २०८२
मोलुङ करिडोर सडक निर्माण : हरिबोले भिरको चट्टान फोर्न केमिकलको प्रयोग गरिने

लामो समयसम्म चट्टान फोर्न नसकेपछि, केमिकलको प्रयोग गर्नुपर्ने अवस्था भएको हो।

ओखलढुंगा- यहाँको मोलुङ करिडोर सडक निर्माणमा हरिबोले भीरको चट्टान फोर्न केमिकलको प्रयोग गरिने भएको छ। लामो समयसम्म चट्टान फोर्न नसकेपछि केमिकलको प्रयोग गर्नुपर्ने अवस्था भएको हो।

सुनकोशी गाउँपालिका-६ काउसेदेखि वडा नं ८ भाल्दीप आँपस्वारासम्म तीन किलोमिटर नयाँ ट्रयाक निर्माण गर्नुपर्नेमा, हरिबोले भीरमा २ सय मिटर चट्टान फोर्न नसक्दा सडक ट्रयाक खुल्न सकेको छैन। उक्त चट्टानलाई लामो समयसम्म ब्रेकर लगाउँदा पनि कटान गर्न नसकेकाले केमिकल प्रयोग गरी चट्टान फोर्ने तयारी गरिएको हो।

कम्प्रेसर मेसिन ल्याइसकेकाले चट्टानलाई ड्रिल गरी केमिकल प्रयोग गरिने निर्माण कम्पनी महालक्ष्मी भुजेल जेभी निर्माण सेवाका प्रोपाइटर तेजबहादुर भुजेलले जानकारी दिए।

यसरी प्रयोग गरिन्छ केमिकल

ढुंगालाई कम्प्रेसर मेसिनले ड्रिल गरेर पाँचदेखि आठ फुटसम्मको प्वाल बनाइन्छ। ती प्वालमा साढे दुई लिटर र आठ फिटको प्वालमा साढे तीन लिटर केमिकल राखिन्छ। उक्त प्वालमा १२ घण्टादेखि ७२ घण्टासम्म केमिकल राखिन्छ।

केमिकलले ढुंगालाई गलाएर चर्काउँछ र ढुंगा टुक्रिन्छ। चट्टानलाई कति गहिराइसम्म चर्काउने हो सोहीअनुसार प्वाल बनाउने गरिन्छ। प्वालमा  नापअनुसारको केमिकल राखेर कम्तीमा १२ देखि बढीमा ७२ घण्टासम्म राख्नुपर्ने ब्लास्टर रामप्रसाद पन्थीले जानकारी दिए।

सडक निर्माणमा यो प्रविधि जिल्लामै पहिलो पटक प्रयोग गर्न लागिएको हो। केमिकलबाट पनि चट्टान फुटाउन नसकेको खण्डमा ब्लास्टिङको प्रयोग गरिने प्रोपाइटर भुजेलले बताए। सडक निर्माण सम्झौतामा ‘ब्लास्टिङ आइटम’ नभएकाले केमिकल प्रयोग गर्न लागिएको उनको भनाइ छ।

हर्कपुरदेखि करिब चार किलोमिटर मोलुङ दोभानसम्म कालोपत्र गर्ने र मोलुङ दोभानदेखि साढे दुई किलोमिटरसम्म कटिङ गर्न महालक्ष्मी भुजेल जेभी निर्माण सेवाले सम्झौता गरेको थियो। मिति २०७९ साल माघ २३ गते सम्झौता भई आगामी माघको २३ गते सम्पन्न गर्ने गरी २५ करोड रूपैयाँ लागतमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय हर्कपुरका इन्जिनियर दिपककुमार दासले जानकारी दिए। 

हरिबोले भीरको चट्टान ट्रयाक जोडिएपछि ओखलढुंगा सदरमुकामदेखि उदयपुरको घुर्मी जोडिने छोटो दुरीको सडक खुल्नेछ। रासस


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend