बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २२ २०८२
गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुरुमा दुईवटा गाईबाट यो पेसामा लाग्नुभएका थापासँग हाल १७ गाई छन्। तीमध्ये सात वटा दुहुना छन्। दैनिक ८० लिटर दूध उत्पदान हुने गरेको थापाको भनाइ छ।

घोराही- वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका-१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन्। उनले करिब ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए। 

उनले भने, 'विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाँही धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ।' बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्‍याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी। 

उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ। थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएका छैनन्। थापालाई लाग्छ म एक दिन बिरामी भएँ भने यो दूध अर्काे दिन कहाँ लगेर बेचुँ। गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरेपनि दूध बजारसम्म पुर्‍याउने काम भने थापा आफैले मात्र गर्दै आएका छन्।

सुरुमा दुईवटा गाईबाट यो पेसामा लाग्नुभएका थापासँग हाल १७ गाई छन्। तीमध्ये सात वटा दुहुना छन्। दैनिक ८० लिटर दूध उत्पदान हुने गरेको थापाको भनाइ छ। 

विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर एक तलाको घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्नेदेखि बाख्रा पाल्नेसम्मको काम गरे। अन्य पेसामा सफल नभएका थापा गाईपालनमा भने सफल हुँदै गइरहेका छन्। 

उनले भने, 'मैले मासिक एक लाख बढी आम्दानी गर्दै आएको छु। मेहनत गरे आफ्नै देशमा पैसा फल्दोरहेछ।' गाईपालनबाट पाँच वर्षमा थापाले करिब ५० लाख रुपैयाँ आम्दानी गर्नुका साथै जिल्लाकै एक उदाहरणीय किसान बनेका छन्। रासस


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१०:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend