शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ-बिम-दिच्याम सडक स्तरोन्नति

सोमबार, वैशाख २२ २०८२
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ-बिम-दिच्याम सडक स्तरोन्नति

ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिकाको दरवाङ-बिम-दिच्याम सडकको स्तरोन्नति सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले खारा-बिम-डाँडाँगाउँ खण्डमा सडक स्तरोन्नतिको काम अगाडि बढाएको हो।

म्याग्दी- ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिकाको दरवाङ-बिम-दिच्याम सडकको स्तरोन्नति सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले खारा-बिम-डाँडाँगाउँ खण्डमा सडक स्तरोन्नतिको काम अगाडि बढाएको हो।

गत असार महिनामा ११ करोड १९ लाख ९० हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको यस योजनाको प्रारम्भिक काम सर्वशक्ति महामाया प्रालिले सुरु गरिसकेको छ। दुई वर्षको ठेक्का अवधि रहेको योजनाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

यस सडकखण्डको ट्र्याक सन् २०११ (विसं २०६८) मा तत्कालीन जिल्ला विकास समिति, बिम गाविस र स्थानीयवासीको चन्दा संकलनबाट खारादेखि बिमसम्म निर्माण गरिएको थियो।

हाल ३.५ देखि ५ मिटर चौडाइको कच्ची सडकलाई ७ मिटर चौडा पारिनेछ। साथसाथै नाली, पर्खाल, ढलान, ग्राभेल र कालोपत्रे निर्माण गरिनेछ। पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार दरवाङदेखि खारासम्मको सडकखण्डमा निर्माणाधीन जलविद्युत् आयोजनाका कारण भारी सवारी आवागमनले क्षति पुर्‍याएकाले खारादेखि बिम हुँदै डाँडाँगाउँसम्मको खण्डलाई स्तरोन्नति गर्न थालिएको हो।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार उहाँ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा २० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्काको प्रक्रिया सुरु गरिएको थियो। चालु आर्थिक वर्षमा भने १ करोड ५० लाख रुपैयाँ मात्रै विनियोजन भएको छ।

शनिबार सडकको अनुगमन गर्नु भएका सांसद जुग्जालीले निर्माण व्यवसायीलाई काम तीव्र बनाउन निर्देशन दिएका छन्। लुरवाङ-तल्लोगाउँ खण्डमा सडक फराकिलो बनाउन भित्तो काटिएको र टेवा पर्खाल निर्माण भइरहेको ठेकेदारले जनाएको छ।

सडक स्तरोन्नतिले मालिका गाउँपालिका-७ को साविक बिम गाविस, धवलागिरि गाउँपालिका-५ मल्कवाङ, -६ मराङ तथा मालिका गाउँपालिका-६ दिच्यामका बासिन्दा लाभान्वित हुने खाराका स्थानीय बुद्धी जुग्जालीले जानकारी दिए। साथै मालिका धुरी, प्रभुचेला, बिम बराह ताल जस्ता धार्मिक तथा पर्यटकीयस्थल जाने भक्तजन र पर्यटकका लागि यात्रा सहज हुने, कृषि उपज बजारमा लैजान र बसाइँसराइ न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख २२ २०८२०७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend