शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

२८ वर्षपछि कालोपत्र भयो घ्याम्पेसाल-ताकुकोट सडक

आइतबार, वैशाख २१ २०८२
२८ वर्षपछि कालोपत्र भयो घ्याम्पेसाल-ताकुकोट सडक

गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक २८ वर्षपछि कालोपत्र गरिएको छ। गण्डकी प्रदेश सरकारले घ्याम्पेसालदेखि ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्डमा कालोपत्र गरेको हो।

गोरखा- गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक २८ वर्षपछि कालोपत्र गरिएको छ। गण्डकी प्रदेश सरकारले घ्याम्पेसालदेखि ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्डमा कालोपत्र गरेको हो।

सन् १९९७ (विसं २०५४) तिर ट्रयाक खुलेको यो सडक दुई लेनको निर्माण भएको हो। सडकको चौडाइ सात मिटर कायम गरिएको छ।

पूर्वाधार विकास कार्यालय, गोरखाका इन्जिनियर कपिल काप्रीका अनुसार एमएस, बिरुवा, वाइबा एण्ड लामा जेभी निर्माण कम्पनीले रु २९ करोड ७७ लाख लागतमा सो सडक कालोपत्र गरेको हो। विसं २०७७ साउन १५ गते ठेक्का सम्झौता भएको र चैत २०८१ मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

'कोभिड-१९ को प्रभावले केही ढिलाइ भएको थियो,' इन्जिनियर काप्रीले भने, 'सडकसँगै एक मिटर चौडाइको ढल निकास नाली, ग्याबिन तथा मेसिनरी पर्खाल पनि निर्माण गरिएको छ।'

सडक कालोपत्र भएपछि स्थानियवासी उत्साहित भएका छन्। बारपाक सुलिकोट गाउँपालिका-७ का अध्यक्ष कृष्ण गुरुङले भने, 'यो सडक वर्षौंदेखि कच्चीमै थियो। यात्रा सास्तीपूर्ण थियो। अब सहज यातायातको अपेक्षा गर्न सकिन्छ।'

गुरुङका अनुसार पहिला बर्खामा पहिरो जानु, सडक हिलाम्य हुनु, सवारी साधन चलाउन समस्या हुनुजस्ता समस्या हट्ने छन्। कालोपत्रे सडक सञ्चालनमा आएपछि गाउँपालिका केन्द्रदेखि सदरमुकामसम्मको आवतजावतमा सहजता आउने उनले बताए। रासस


प्रकाशित : आइतबार, वैशाख २१ २०८२०८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend