शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

शनिबार, वैशाख २० २०८२
अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन्।

काठमाडौं- सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन्। 

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन्। नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ।

अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन्। पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन्।

बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ। कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए।

सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए। 'हामीले आधिकारिक रुपमा १०६ दशमलव ५ प्रतिशत पूर्व-महामारी स्तरमा पुगेका छाैँ, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ', बोर्डले उल्लेख गरेको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवद्र्धक रहेको बताए। 'यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण हो', उनले भने।

बोर्डको विवरणमा वर्षको चार महिना (जनवरी-अप्रिल) को अवधिमा चार लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन्। जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका थिए।


प्रकाशित : शनिबार, वैशाख २० २०८२१४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend