बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोशी लगानी सम्मेलन सम्पन्न, ४६ परियोजनामा एक खर्ब ५२ अर्बको लगानी सम्झौता

शुक्रबार, वैशाख १९ २०८२
कोशी लगानी सम्मेलन सम्पन्न, ४६ परियोजनामा एक खर्ब ५२ अर्बको लगानी सम्झौता

सरकारले सम्मेलनअघि करिब दुई दर्जन परियोजनामा लगानी आउला भन्ने अपेक्षा गरेको भए पनि सम्मेलनमा सो भन्दा झन्डै दोब्बर संख्यामा सम्झौता भएको हो।

विराटनगर- कोशी प्रदेश सरकारद्वारा आयोजित लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा प्रारम्भिक अनुमानभन्दा दोब्बर संख्यामा लगानी सम्झौता भएसँगै प्रदेश सरकारले लगानी आकर्षणमा उल्लेख्य सफलता पाएको जनाएको छ।

शुक्रबार सम्पन्न सम्मेलनमा कोशी प्रदेश लगानी प्राधिकरण र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताबीच ४६ वटा परियोजनामा लगानी सम्झौता सम्पन्न भएको हो। ती परियोजनामार्फत कुल एक खर्ब ५२ अर्ब ६ करोड रूपैयाँ बराबरको लगानी प्रदेशमा भित्र्याइने प्राधिकरणले जनाएको छ।

सरकारले सम्मेलनअघि करिब दुई दर्जन परियोजनामा लगानी आउला भन्ने अपेक्षा गरेको भए पनि सम्मेलनमा सो भन्दा झन्डै दोब्बर संख्यामा सम्झौता भएको हो।

लगानी प्रतिबद्धता प्राप्त परियोजनाहरूमा सबैभन्दा ठूलो हिस्सा उद्योग क्षेत्रमा परेको छ। उद्योग क्षेत्रमा मात्रै ६६ अर्ब ८७ करोड रूपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता आएको हो। तीमध्ये उदयपुरमा सिमेन्टको क्लिंकर प्रशोधन परियोजनाका लागि मात्रै ३२ अर्ब रूपैयाँ लगानी गर्न उद्योगपति सन्तोषमणि न्यौपानेले सम्झौता गरेका छन्।

त्यसपछि पूर्वाधार क्षेत्रमा ३८ अर्ब ४१ करोड, पर्यटन क्षेत्रमा ३४ अर्ब १९ करोड, ऊर्जा क्षेत्रमा ८ अर्ब ६२ करोड, कृषि क्षेत्रका आठ परियोजनामा ३ अर्ब, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड र फोहोर व्यवस्थापनतर्फ ६ अर्ब रूपैयाँ लगानी प्रतिबद्धता व्यक्त भएको छ।

सम्मेलनमा लगानीकर्ताहरूले कोशी प्रदेशको भौगोलिक र स्रोतसाधनको सम्भावना उल्लेख गर्दै लगानीमैत्री वातावरण विकासमा थप प्रयास हुनुपर्ने सुझाव दिएका थिए।

कार्यक्रमको समापनमा लगानीकर्ताहरू र कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend