बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सङ्घीय संसद्को संयुक्त बैठक आज : राष्ट्रपति मार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

शुक्रबार, वैशाख १९ २०८२
सङ्घीय संसद्को संयुक्त बैठक आज : राष्ट्रपति मार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आज बस्दैछ, जसमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष (२०८२/८३) को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

काठमाडौं- संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आज बस्दैछ, जसमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष (२०८२/८३) को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो ३:०० बजेका लागि बैठक बोलाइएको हो। संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले संयुक्त बैठकको सम्भावित कार्यसूची तय भइसकेको जानकारी दिनुभएको छ। नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ।

सभामुख देवराज घिमिरेले बैठकमा प्रतिनिधिसभाका सदस्यहरूलाई दिउँसो २:४५ बजेसम्म निर्धारित पोशाकमा आशनग्रहण गर्न आह्वान गरिसकेका छन्।

सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमले मुलुकको आर्थिक अवस्था सुधार गर्न, युवामा आशा जगाउने र उद्यमशीलता, सीप विकास, स्टार्टअप तथा व्यावसायिक योजनालाई प्राथमिकता दिने विश्वास गरिएको छ। साथै, सरकारको खर्च वृद्धि, लगानी प्रवर्द्धन र सुशासन कायम गर्ने विषयवस्तुमा केन्द्रित नीति तथा कार्यक्रम प्रस्तुत हुने बताइएको छ।

यसअघि नै सत्ता साझेदार दलहरूबीच समन्वय गरी नीति तथा कार्यक्रमको प्रारूपमा व्यापक छलफल गरिएको थियो।

संघीय संसद् सचिवालयले वैशाख २२ गतेदेखि २८ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसपछि वैशाख ३० गतेदेखि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु हुनेछ, जसलाई प्रि–बजेट छलफलको रूपमा लिइनेछ। 

नेपालको संविधानअनुसार आगामी जेठ १५ गते अर्थमन्त्रीले संसद्को संयुक्त बैठकमार्फत सरकारको बजेट प्रस्तुत गर्नेछन्।


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend