बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

कोशी लगानी सम्मेलन : ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

बिहीबार , वैशाख १८ २०८२
कोशी लगानी सम्मेलन : ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

'हामी कच्चा पदार्थ पनि ल्याएर गुणस्तरीय वस्तु उत्पादनमा केन्द्रित हुनु जरुरी छ। त्यसकारण हरेक क्षेत्रमा नयाँ-नयाँ सम्भावनालाई हामीले पहिल्याउन सक्छौँ', उनले भने।

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्।

कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई आग्रह गरे।

'वर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ। सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ। आवश्यक सहकार्य र समन्वय गर्न सरकार तयार छ', उनले भने।

कोशी प्रदेश पूर्वाधार विकासका साथै सडक सञ्जालसँग जोडिएको जनाउँदै प्रधानमन्त्री ओलीले लगानी गरेर उत्पादन बजारमा पुर्‍याउने समयसम्म एसियालीस्तरको ६ लेनको पूर्व-पश्चिम राजमार्ग निर्माण भइसक्ने उल्लेख गरे। 'हामी कच्चा पदार्थ पनि ल्याएर गुणस्तरीय वस्तु उत्पादनमा केन्द्रित हुनु जरुरी छ। त्यसकारण हरेक क्षेत्रमा नयाँ-नयाँ सम्भावनालाई हामीले पहिल्याउन सक्छौँ', उनले भने।

प्रधानमन्त्री ओलीले उत्पादित सामग्री कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लैजान सक्नेगरी सडक पूर्वाधार निर्माण भइसकेकाले बजारीकरण र ढुवानीमा कुने असहजता नहुने धारणा राखे। 'विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ। सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीका क्षेत्रमा कोशी प्रदेशमा प्रशस्त सम्भावना छन्। यहाँका जनता शिक्षित र मेहनती हुनुहुन्छ। त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना छ', उनले भने।

प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, 'म युवाहरूलाई भन्न चाहन्छु, रोजगारीको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस्। त्यसका लागि सोच, तालिम र सीप विकासमा सरकारले सहयोग गर्नेछ।' विश्वको सर्वाेच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ‘ब्राण्डिङ’ गर्न आग्रह गर्दै उनले ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यताअनुसार श्रमको सम्मान गर्न, रोजगारादाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षा गर्न सरकार सदैव तत्पर रहेको पनि लगानीकर्तालाई अवगत गराए। उनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए। रासस


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२१४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend