बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

बिहीबार , वैशाख १८ २०८२
उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड
फाइल तस्बिर

विश्व मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन्।

विश्व मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिँदै श्रम अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।

उनले श्रमिक दिवसले सम्पूर्ण श्रमिकहरूलाई हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षाका लागि एकताको सूत्रमा बाँध्न सहयोग पुर्‍याउने उल्लेख गरेका छन्।

सन्देशमा उनले नेपालको संविधानले सबै नागरिकलाई रोजगारी र श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक प्रत्याभूत गरेको स्पष्ट पारेका छन्। समान कामको लागि लैङ्गिक आधारमा कुनै भेदभाव नगरिने संवैधानिक व्यवस्थाबारे पनि उनले उल्लेख गरेका छन्।

राष्ट्रपतिले लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको प्रक्रियामा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास व्यक्त गर्दै स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उद्यमशीलताको विकास आवश्यक रहेको बताएका छन्।

उनले पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान महत्त्वपूर्ण हुने भन्दै मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिएका छन्।

प्रत्येक वर्ष मे १ तारिखमा मनाइने श्रमिक दिवस श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकार स्थापित गर्ने दिनका रूपमा महत्वपूर्ण रहेको राष्ट्रपतिले बताएका छन्। रासस

 


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२०९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend