बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

लगानी सम्मेलन : उत्साहित छन् व्यवसायी

बिहीबार , वैशाख १८ २०८२
लगानी सम्मेलन : उत्साहित छन् व्यवसायी

प्राकृतिक सम्पदा, उत्पादन, रोजगारी र रणनीतिक अवस्थितिका कारण कोशी प्रदेशलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा हेरिँदै आएको छ।

बेलबारी- कोशी प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा आजदेखि सुरु गरेको दुईदिने लगानी सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन मद्दत पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन्। प्राकृतिक सम्पदा, उत्पादन, रोजगारी र रणनीतिक अवस्थितिका कारण कोशी प्रदेशलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा हेरिँदै आएको छ।

व्यवसायीहरूका अनुसार सगरमाथाको काखदेखि तराईको उर्वर भूमिसम्म फैलिएको प्रदेशमा कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको सम्भावना उच्च छ। कोभिड-१९ महामारीपछि थलिएको अर्थतन्त्रलाई पुनः उत्साह दिन सम्मेलनले भूमिका खेल्ने व्यवसायीहरूको विश्वास छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सम्मेलनले निजी क्षेत्रमा आशा जगाएको बताउँदै प्रशासनिक झन्झट, जमिनको अभाव र बजार पहुँचको समस्यामा स्थायी संवाद मञ्च स्थापना, साना उद्यमीलाई बजारीकरणमा सहयोग र युवाको सीप विकासजस्ता विषयमा छलफल हुने अपेक्षा व्यक्त गरे।

नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारदाले लगानी सम्मेलनले शिथिल व्यवसाय क्षेत्रलाई चलायमान बनाउने र राज्यले समस्या सुन्ने अपेक्षा गरेको बताए।

बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारले रु १ खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ परियोजना सार्वजनिक गरेपछि व्यवसायी थप उत्साहित भएका हुन्। कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार र सूचना प्रविधिसहितका परियोजनाहरू समेटिएको सम्मेलनमा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता (एमओयू) हुने लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिए।

सम्मेलनमा कृषि, पर्यटन, औद्योगिक उत्पादन, पूर्वाधार, ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका सम्भावनाबारे छलफल हुने आयोजकले जनाएको छ। पहिलो दिनको मुख्य सत्रमा लगानीमैत्री वातावरण र तीन तहका सरकारबीचको अन्तरसम्बन्धबारे विज्ञ र जनप्रतिनिधिबीच विचारविमर्श हुनेछ। रासस


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२०९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend