दमौली (तनहुँ)- जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ। छिम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो।
काठमाडौँस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा आजदेखि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए। समुद्री सतहबाट २,१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा मोनोरेल सञ्चालन गर्न सकिए प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बनाउन सकिने तामाङले बताए।
छिम्केश्वरी माई मन्दिरको दर्शनका लागि आउने अशक्त, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धालाई लक्षित गरी ठूल्ढुङ्गाबाट मन्दिरसम्म करिब ६ सय मिटर दूरीको मोनोरेल सञ्चालन गर्ने लक्ष्य लिइएको तामाङले बताए। उनले भने, 'पहिलो चरणमा नापजाँच सुरु गरिएको छ। लागतसहितको प्रतिवेदन एक हप्ताभित्र आइपुग्छ। त्यसपछि थप प्रक्रिया अगाडि बढाउँछौं।'
छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्याङ्क छ। छिम्केश्वरीमा पर्यटकीय पूर्वाधार निर्माण गरेर थप धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनले भने, 'हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौं। त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढाउँछौं।' गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माणमार्फत समग्र गाउँपालिकाको विकासको योजना अघि बढाएको चुमानले बताए।
छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल नेटवर्क र टावर व्यवस्थापनलगायत समस्या रहेकाले क्रमशः समाधान हुँदै जाने उनले बताए। सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको र खानेपानीको बजेटको स्रोत भई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी ठेक्का प्रक्रिया अघि बढाउने तयारी भएको जानकारी उनले दिए।
छिम्केश्वरी क्षेत्रमा पानीको अभाव हुँदा विकास निर्माणमा बाधा आएको छ। खानेपानी सुविधाका लागि खानेपानी मन्त्रालयबाट बजेट विनियोजन भई डिपिआरको चरणमा रहेको चुमानले बताए। उनले भने, 'वडा नम्बर ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केश्वरी खानेपानी आयोजना अगाडि बढाउन डिपिआर भइरहेको छ। डिपिआर सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ।' उनका अनुसार खानेपानी आयोजनाका लागि करिब १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेको नयाँ वर्षलगायत विशेष अवसरमा ठूलो संख्यामा पर्यटक भेला हुने गरेका छन्। त्यसबाहेक दैनिक रूपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तामाङले जानकारी दिए।
उनका अनुसार आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिरको जीर्णोद्वार गरिसकेको छ। पुरानो मन्दिरलाई जीर्णोद्वार गरी आकर्षक बनाइएको छ र मन्दिरमा पित्तलको छानो राखिएको छ।
गोरखा मनकामनाकी दिदीका रूपमा पूजा गरिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनोकामना पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ। सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई यहाँ अवस्थित छन् भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ। छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायत हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ।
छिम्केश्वरी मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ। आर्थिक वर्ष २०७५/७६ मा ४१ लाख ६३ हजार ७०६ रुपैयाँको लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न गरिएको छ भने आव २०७६/७७ मा ३५ लाख ९९ हजार १४१ रुपैयाँको लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ। रासस