काठमाडौं- एमजीले चीनको सांघाईमा भएकाे अटो सांघाई २०२५ मा नयाँ विद्युतीय एसयूभी साइबर एक्स सार्वजनिक गरेको हो। अप्रिल २३ देखि सुरु भएको अटो शोमा एमजीले नयाँ कार सार्वजनिक गरेको हो।
चीनको सवारी उत्पादक कम्पनी एसएआईसी समूहको स्वामित्वमा रहेको एमजीले लाइफस्टाइल अफरोड एसयूभी साइबर एक्स सांघाईमा सार्वजनिक गरेको छ।
एमजीले बक्स डिजाइनको साइबर एक्स म्याट ब्ल्याक फिनिसमा देखाएको थियो। एमजीको साइबर सिरिजको दोस्रो मोडल साइबर एक्स विद्युतीय सवारी हो। यो एसयूभी एसएआईसीको नयाँ मोडुलर इलेक्ट्रिक प्ल्याटफर्म ई३ आर्किटेक्चरमा बनेको हो। यो लाइफस्टाइल एसयूभी सेल टू बडी डिजाइनमा बनेकाले गाडीको तौल कम भइ पर्फमेन्स उच्च हुने दाबी कम्पनीको छ।
एमजीले यो एसयूभीमा अन्य मोडलमा भन्दा फरक पपअप डिजाइनको हेडलाइट राखिएको छ। जुन गाडी बन्द गर्दा बडीमा रिट्रयाक हुन्छ। यसको फ्रन्ट र रियरमा दिएको कनेक्टेड एलईडी लाइट बारले यो एसयूभीलाई मोर्डन लुक्स दिएको छ।
एमजीको साइबर एक्समा सिल्भर र ब्ल्याक ड्युलटोन कलरको फाइभ स्पोक ह्वील रहेको छ। यो एसयूभीको ककपिट र कनेक्टिभिटी चिनियाँ स्मार्ट फोन उत्पादकले विकास गरेको हो। एमजीले सार्वजनिक गरेको यो एसयूभीको विशेषता ब्याट्री प्याकलगायत कुरा बाहिर ल्याएको छैन। कम्पनीले एक्सटेरियर देखाए पनि यसको इन्टेरियरको बारेमा केही खुलाएको छैन।
अबको केही महिनापछि एमजीले साइबर एक्स सार्वजनिक गर्ने छ। सांघाईमा देखाइएको साइबर एक्स उत्पादन रेडी अवस्थाको कन्सेप्ट हो। उत्पादन बजार आउँदा राइट ह्यान्ड ड्राइभमा पनि सँगसँगै आउने भएकाले साइबर एक्स नेपाली बजारमा समेत आउने छ। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामोन्ट मोटर्सले साइबर एक्स सन् २०२५ भित्रै नेपाल ल्याउने अनुमान गरिएको छ।
एमजीले आगामी दुई वर्षमा ८ वटा नयाँ मोडलको ईभी बजारमा ल्याउने घोषणा गरेको थियो। एमजीले यो वर्ष साइबर एक्सको अलावा एक नयाँ कम्प्याक एसयूभी र सेडान कारसमेत सार्वजनिक गर्ने तयारी गरेको छ। नेपाली बजारमा हाल एमजी एसफाइभ एमजी फोर तथा एमजी साइबर स्टार बिक्री हुँदै आएको छ। त्यस्तै भारतमा बनेको सिटी कार कोमेट पनि नेपालमा उपलब्ध रहेको छ।