काठमाडौं- काइरोस इन्टरनेसनल प्रालिले अवैध बाटोबाट आयात गरेर ल्याएको ल्यान्ड रोभर रेन्ज रोभर कार अन्डर इनभ्वोइस भएको पुष्टि भएको छ। भन्सार विभागले काइरोसले ल्याएको सो कारको आयात मूल्य र उत्पादक कम्पनीले तय गरेको मूल्यभन्दा न्यून मूल्य देखाएर आयात भएको पुष्टि गरेको हो।
काइरोस इन्टरनेसनल प्रालिले उत्पादक कम्पनी वा उसले तोकेको बिक्रेता कम्पनीसँग नभइ अर्कै कम्पनी खडा गरेर ल्यान्ड रोभर रेन्ज रोभरको कार आयात गरेर ल्याएको थियो। काइरोसले आयात गरेको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्टस कार गएको माघ २७ गते आइतबार भन्सार जाँचपास भएर नेपाल भित्रिएको थियो।
उक्त कार आधिकारिक बिक्रेता नै नभएको कम्पनीले कहाँबाट र कसरी आयात गर्यो र यसरी अवैध बाटोबाट आयात भएको रेन्ज रोभर कार भन्सारले कसरी जाँचपास गर्यो? बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो। वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट उक्त गाडी जाँचपास भएको थियो। उक्त कार्यालयले कुनै आधिकारिक बिक्रेताको किर्ते कागजातकै आधारमा काइरोस इन्टरनेसनलले अवैध बाटोबाट ल्याएको ल्यान्ड रोभर रेन्ज रोजर स्पोर्टस कार जाँचपास गरेको पाइएको हो।
बेलायती विलासी कार उत्पादक कम्पनी ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)ले नेपालमा आधिकारिक बिक्रेता नरहेको बताइसक्दा ल्यान्ड रोभरको कार भन्सार जाँचपास भएको पाइएको थियो।
भन्सार कानूनअनुसार उत्पादन कम्पनी वा उत्पादक कम्पनीले तोकको कम्पनीबाट मात्र सवारी आयात गरेर ल्याउन पाइन्छ। तर उत्पादक कम्पनीले नै आधिकारिक बिक्रेता छैन भन्दासमेत ल्यान्ड रोभरको कार भन्सारले जाँचपास गरेर नेपाल ल्याउन दिइएको हो। यसरी अवैध बाटोबाट ल्यान्ड रोभरका कार नेपाल आयात भएको समाचार बिजनेस न्युजले बाहिर ल्याएपछि भन्सार विभागले आफ्नोतर्फबाट अनुसन्धान सुरु गरेको थियो।
सो अनुसन्धानपछि काइरोस इन्टरनेसनलले ल्याएको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्टस कारमा अन्डर इनभ्वोइस भएको निष्कर्ष भन्सार विभागले निकालेर आयातकर्तालाई पत्र काटिसकेको छ। विश्व बजारमा उक्त कारको मूल्य ९० हजार अमेरिकी डलरभन्दा बढी रहेको छ। तर काइरोसले उक्त कार सीआईएस (सामानको मूल्य, भाडा तथा बीमासमेत) मूल्य नै जम्मा ६७ हजार ५ सय २० अमेरिकी डलरमा आयात गरेर ल्याएको थियो।
काइरोसले रेन्ज रोभर स्पोर्टस कार अमेरिकाबाट ल्याएको भन्सारमा घोषणा गरेको थियो। अमेरिकाबाट उक्त कार ल्याउन भाडा र बीमा नै कम्तीमा ४ देखि ५ हजार डलर लाग्छ। त्यसरी हेर्दा यो रेन्ज रोभर स्पोर्टस कार ६० हजार डलर हाराहारीमा खरिद गरेको देखिन्छ। यो सरासर अन्डर इनभ्वोइस थियो। भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयसँगको समन्वयमा सबै कागजात, अन्तर्राष्ट्रिय बजार मूल्य र कम्पनीले बिक्रेतालाई दिने मूल्यसमेत अध्ययन गरेर ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्टसको मूल्य कायम गरेको हो।
भन्सार विभागले ६७ हजार ५ सय २० अमेरिकी डलरमा खरिद गरिएको उक्त कारको मूल्य ८६ हजार डलर कायम गरेर काइरोस इन्टरनेसनललाई पत्र पठाएको हो। भन्सार विभागले कारइरोसबाट सोहीअनुसार बाँकी भएको रकममा भन्सार महसुल, अन्तःशुल्क, सडक मर्मतसम्भार दस्तुर, भ्याट र जरिवानासमेत असुल गर्न भनेको छ।
काइरोस इन्टरनेसनल प्रालिले ल्यान्ड रोभर मात्र होइन जर्मन ब्रान्ड अउडी, तथा पोर्साका विद्युतीय कारसमेत आयात गर्दै आइरहेको छ। यी सबै कार काइरोसले अवैध बाटोबाट ल्याइरहेको छ। तर भन्सार, वाणिज्य विभाग तथा अर्थ मन्त्रालयले कुनै वास्ता गरेको छैन। जर्मन विलासी स्पोर्टस कार निर्माता कम्पनी पोर्साको विद्युतीय कारमा पनि काइरोस इन्टरनेसनलले अन्डर इनभ्वोइस गरिरहेको छ। अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा निक्कै कम मूल्यमा काइरोसले पोर्साको टाइकन तथा म्याकन विद्युतीय कारमा अन्डर इनभ्वोइस गरेर कर छली गरिरहेको छ।
ल्यान्ड रोभरको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्टसमा अनुसन्धान गरेर अन्डर इनभ्वोइस भएको ठहर गरेको भन्सार विभागले अब पोर्सा र अउडीको कारमा पनि अनुसन्धान गर्न आवश्यक छ।
एकैसाथ तीन विलासी ब्रान्ड अउडी, पोर्सा र ल्यान्ड रोभरको आधिकारिक बिक्रेता 'काइरोस इन्टरनेसनल' नै बन्न सम्भव छ?
अवैध बाटोबाट आएको ल्यान्ड रोभर कार भन्सारले कसरी गर्यो पास?
ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन
उत्पादकले आधिकारिक बिक्रेता नतोक्दै ल्यान्ड रोभरका कार कहाँबाट कसरी काइरोस इन्टरनेसनलले ल्याउन लाग्यो?