बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि, बैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

बिहीबार , वैशाख ११ २०८२
संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि, बैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्। यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ।

काठमाडौं- संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ।

नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय-समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ। तर एउटा अधिवेशनको समाप्ति र अर्काे अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने सवैधानिक व्यवस्था छ।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो। राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ। राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्। यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ।

यही बैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रिबजेट’ छलफल बैशाख २८ देखि हुने अनुमान छ। बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रिबजेट छलफल हुने कानूनी प्रावधान छ।

त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रिबजेट छलफल हुने जनाइएको छ। यसपटक लामो समयदेखि प्रतिक्षा गरिएका संघीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भइ निष्कर्षमा पुर्‍याउन कोसिस हुने जनाइएको छ।

संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend