शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

सम्झौताभन्दा चार महिनाअगावै तयार भयो बुल्दीखोला पुल, ६ करोड ११ लाख खर्च

images
बिहीबार , वैशाख ११ २०८२
images
सम्झौताभन्दा चार महिनाअगावै तयार भयो बुल्दीखोला पुल, ६ करोड ११ लाख खर्च

समयअगावै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गरिने नगरपालिकाले जनाएको छ।

images
images

तनहुँ- जिल्लाको व्यास नगरपालिका-१ र २ जोड्ने कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ।

images
images
images

आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा चार महिनाअगावै पुल तयार भएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी दिए।

images
images

पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ। पाण्डेले भने, 'पुल निर्माण कार्य सकिएको छ, अब फिनिसिङको काम भइरहेकाले औपचारिक रूपमा गाडी गुड्न मिलेको छैन। मोटरसाइकल भने गुड्न थालेका छन्, अबको एक हप्ताभित्रमा गाडी पनि आवतजावत गर्न मिल्छ। कम्पनीले उच्च प्राथमिकताका साथ काम गरेकाले यो सम्भव भएको हो।'

images
images

निर्माण कम्पनीले अब छिट्टै नगरपालिकालाई हस्तान्तरण गर्ने तयारीमा रहेको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए। उनले भने, 'इमानदार भएर काम गर्ने हो भने सम्झौता अवधिभन्दा अघि पनि काम गर्न सकिन्छ भन्ने गतिलो सन्देश प्रवाह भएको छ। यसबाट अन्य निर्माण व्यवसायीले पनि केही सिक्न आवश्यक छ।'

समयअगावै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानूनी व्यवस्था रहेको सोअनुसार पुल निर्माण कम्पनीलाई पुरस्कृत गरिने नगरपालिकाले जनाएको छ। 

पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत ६ करोड ११ लाख ३२४ रूपैयाँ बजेट विनियोजन गरिएको थियो। पुल बनेपछि आवागमन सहज हुनाका साथै खोला किनारका करिब एकसय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेलले जानकारी दिए।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारीसाधन र स्थानीयलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend