बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारत-बंगलादेश विवाद : नेपालको बिजुली बंगलादेश निर्यातमा भारतले अवरोध नगर्ने

बुधबार, वैशाख १० २०८२
भारत-बंगलादेश विवाद : नेपालको बिजुली बंगलादेश निर्यातमा भारतले अवरोध नगर्ने

पछिल्लो समय भारत र बंगलादेशबीचको व्यापारिक द्वन्द्वका कारण निर्यातमा समस्या हुने आशंका नेपालका अधिकारीहरूले गरेका थिए। तर भारतले नेपाल पक्षलाई भारतको बाटो हुँदै बंगलादेश जाने बिजुलीमा अवरोध नगर्ने जनाएको छ।

काठमाडौं- भारत र बंगलादेशबीच अन्तर्राष्ट्रिय व्यापारमा जारी विवादले नेपालबाट बंगलादेश बिजुली निर्यातमा भने अवरोध नहुने भएको छ। भारतले नेपाल पक्षलाई भारतको बाटो हुँदै बंगलादेश जाने बिजुलीमा कुनै पनि समस्या नहुने जनाउ दिएको छ।

दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले नेपालबाट बंगलादेश बिजुली निर्यातमा कुनै समस्या नहुने वचन दिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कासँगको छलफलमा उनले बंगलादेश जाने बिजुलीमा त्रिपक्षीय सम्झौता भएकाले कुनै पनि समस्या नहुने बताए।

नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली किनबेच सम्झौता भइसकेको छ। नेपालबाट बंगलादेश बिजुली निर्यात गर्दा भारतीय प्रसारण लाइन प्रयोग गर्नुपर्छ। तर, पछिल्लो समय भारत र बंगलादेशबीचको व्यापारिक द्वन्द्वका कारण निर्यातमा समस्या हुने आशंका नेपालका अधिकारीहरूले गरेका थिए।

भारतले आफ्ना स्थल भन्सार नाका हुँदै तेस्रो देशमा सामान निर्यात गर्न बंगलादेशलाई दिइरहेको अनुमति खारेज गरेको थियो। त्यसको केही दिनपछि बंगलादेशले पनि भारत तथा नेपाल र भुटानका दुईथरी वस्तु आफ्नो मुलुकमा आयात गर्न प्रतिबन्ध लगाइसकेको छ। 

त्रिपक्षीय सम्झौताअनुसार नेपालले ५ वर्षसम्म जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा बिजुली निर्यात गर्न पाउनेछ। सम्झौतापछि नेपालले गत कात्तिक ३० गते पहिलोपल्ट भारतबाहेकको तेस्रो मुलकमा १ दिनका लागि बिजुली निर्यात गरेको थियो।

भारतले नेपाललाई बंगलादेशमा बिजुली बेच्न आफ्नो ग्रीड प्रयोग गर्न नदिने अवस्थामा उक्त बिजुली भारतलाई नै बिक्री गर्ने तयारी नेपालले गरेको थियो। गत असोज १७ गते  नेपाल, भारत र बंगलादेशबीचको ऊर्जा क्षेत्रको विकासमा त्रिपक्षीय सम्झौता भएको थियो। सोही सम्झौताले भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश जाने बाटो खुलेको थियो।

नेपाल र भारतबीच विद्युत् आयात-निर्यातका लागि हाल सञ्चालनमा रहेको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय लाइन हुँदै भारतीय भूमिमा रहेको बहरामपुर-भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश जानेछ। प्राधिकरणले तोकिएको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ।

पहिलो चरणमा ४० मेगावाट बिजुली बंगलादेश निर्यात सुरु भएको छ। प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका ६ महिना ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गरिने जनाएको छ। प्रतियुनिट ८.१७ टाका (९ रुपैयाँ ३० पैसा) मा प्राधिकरणले बिजुली बिक्री गर्नेछ।

नेपाल विद्युत प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६.४ अमेरिकी सेन्ट पाउनेछ। प्रतिमहिना २८ हजार ८ सय मेगावाट आवर बिजुली बंगलादेश निर्यात हुनेछ। बंगलादेशले २३.२८ मेगावाटको त्रिशुली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् पहिलो चरणमा लैजाने छ।

बंगलादेश सरकारले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ। नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ।


प्रकाशित : बुधबार, वैशाख १० २०८२१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend