बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतीय विद्युतमन्त्री खट्टर मंगलबार नेपाल आउँदै, अरुण-३ को अवलोकन गर्ने

सोमबार, वैशाख ८ २०८२
भारतीय विद्युतमन्त्री खट्टर मंगलबार नेपाल आउँदै, अरुण-३ को अवलोकन गर्ने

उनको भ्रमणका क्रममा दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने बताइएको छ।

काठमाडौं- भारतीय विद्युत र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन्। मन्त्री खट्टर अरुण-३ जलविद्युत आयोजनाको अवलोकनका लागि मंगलबार नेपाल आउन लागेका हुन्।

भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेबीएन)को स्वामित्वमा रहेको एसजेबीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर नेपाल आउन लागेको बताइएको छ।

आयोजनाको अवलोकन गरी खट्टर बुधबार स्वदेश फर्किने छन्। साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि अरुण-३ को अवलोकन गर्न पुग्ने बताइएको छ। उक्त कार्यक्रममा एसजेबीएनका अध्यक्ष राज कुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ।  

arun-3.png

विशेषगरी ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन्। खट्टरले मन्त्री खड्कासँग अन्य जलविद्युत् आयोजनामा भारतीय लगानीका साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्यतालिका छ।

यस्तै, उनले ९ गते नै अरुण-३ जलविद्युत आयोजनाको बाँध तथा पावर हाउस क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किने छन्। सोही दिन ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युतमन्त्री खट्टरले विभिन्न ठाउँका सबस्टेसन संयुक्तरूपमा उद्घाटन गर्नेछन्।

यसैगरी दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने बताइएको छ। बैशाख १० गते मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको दर्शन गरी नेपाली मन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर भारत फर्किने एसजेबीएनले जानकारी दिएको छ।  

एसजेबीएनले संखुवासभामा नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको काम अहिले तीव्र गतिमा भइरहेको छ। अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगी सकेको छ। कम्पनीले सो आयोजनाको काम छिटो सक्ने लक्ष्यका साथ गरिरहेको छ।

यस्तै, एसजेबीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।  


प्रकाशित : सोमबार, वैशाख ८ २०८२१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend