बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुरु भयो विद्युतीय एम्बुलेन्स ल्याउने छलफल, यस्तो छ प्रस्तावित मापदण्ड

न्यूनतम रेन्ज २ सय किमि, ब्याट्री ५० किलोवाट आवर

सोमबार, वैशाख ८ २०८२
सुरु भयो विद्युतीय एम्बुलेन्स ल्याउने छलफल, यस्तो छ प्रस्तावित मापदण्ड

सरकारले यसअघि पनि एम्बुलेन्सको नयाँ मापदण्ड बनाउने बारे छलफल गरेको थियो। अब भने स्वास्थ्य मन्त्रालयले विद्युतीय सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याउने गरी मापदण्ड बनाउन लागेको हो।

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्युतीय एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको छ। मन्त्रालयले पुलचोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्याकमको संयोजकत्वमा अध्ययन कमिटी बनाएर काम अघि बढाएको छ।

त्यस्तै मन्त्रालयले सरोकारवाला निकायहरु तथा व्यवसायीहरुसँग पनि छलफल गरिरहेको छ। हालसम्म आईसी इन्जिनयुक्त सवारीमात्र एम्बुलेन्सका रुपमा सञ्चालनमा आउने व्यवस्था गरेको छ।

सरकारले यसअघि पनि एम्बुलेन्सको नयाँ मापदण्ड बनाउनेबारे छलफल गरेको थियो। अब भने स्वास्थ्य मन्त्रालयले विद्युतीय सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याउने गरी मापदण्ड बनाउन लागेको हो।

सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति लिएर आयातमा कर सहुलियत दिँदै आएको छ। निजीदेखि सार्वजनिक यातायातमा समेत विद्युतीय सवारीको प्रयोग उल्लेख्यरुपमा बढ्दै गइरहेको छ। तर हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको ट्याक्सीको नयाँ मापदण्डमा भने विद्युतीय र पेट्रोल दुवै प्रकारका कारलाई ट्याक्सीका रुपमा दर्ता गर्न पाइने व्यवस्था गरिएको छ।

बागमती प्रदेश सरकारले भने विद्युतीय सवारीलाई मात्र ट्याक्सीका रुपमा दर्ता गर्न पाइने व्यवस्था गरेर कार्यान्वयन गरिरहेको छ। बागमती प्रदेशले सार्वजनिक यातायातको रुपमा प्रयोग हुने ट्याक्सीलाई विद्युतीय बनाउँदा केन्द्र सरकारले भने पेट्रोल कार पनि ल्याउन पाउने गरी मापदण्ड बनाएर पछाडि फर्किने काम गरेको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मापदण्डलाई गिज्याउने गरी स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स नै विद्युतीय सवारीलाई बनाउन लागेको हो। समयानुकूल प्रदूषण नगर्ने सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न विद्युतीय सवारीलाई एम्बुलेन्स बनाउन मन्त्रालयले प्रारम्भिक खाका तयार पारेर छलफल गरिरहेको छ।

मन्त्रालयले बनाएको विद्युतीय एम्बुलेन्स मापदण्डअनुसार ५० किलोवाट आवर ब्याट्री प्याक भएको, डुवल मोटरमा क्षमता कम्तिमा २ सय किलोवाट भएको हुनुपर्ने र सिंगल मोटरमा १ सय ५० किलोवाटभन्दा बढी भएको हुनुपर्ने व्यवस्था गरिएको छ। 

यस्तो छ विद्युतीय एम्बुलेन्सको मापदण्डका मुख्य बुँदा : 

- विद्युतीय एम्बुलेन्स नेपालको भुगोल सुहाउँदो भएको 

- ब्याट्री क्षमता ५० किलोवाट आवरभन्दा माथि भएको 

- डुअल मोटर क्षमतामा कम्तिमा २ सय किलोवाट भएको

- सिंगल मोटर क्षमतामा १ सय ५० किलोवाटभन्दा माथि भएको

- रियल वर्ल्ड रेन्ज कम्तिमा २ सय किलोमिटर भएको

- डीसी भोल्टेज फास्ट चार्जर हुनुपर्ने वा एसी भोल्टेज भएको हुनुपर्ने

- ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम वा त्योभन्दा माथि भएको हुनेपर्ने

- विद्युतीय एम्बुलेन्स सेवा सञ्चालन गर्ने जिल्ला वा स्थानमा फास्ट चार्जर सेन्टर उपलब्ध भएको कागजात उपलब्ध भएको हुनुपर्ने


प्रकाशित : सोमबार, वैशाख ८ २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend