भैरहवा- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्य सम्पादन, विकास निर्माण र श्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
मन्त्रालयद्वारा बिहीबार भैरहवामा आयोजीत बेरुजु फर्स्यौटसम्बन्धीको कार्यशालालाई सम्बोधनका क्रममा उनले कार्यसम्पादनका क्रममा सकेसम्म बेरुजु नै आउन नदिन र आएको भए फर्स्यौटतर्फ समेत ध्यान दिन निर्देशन दिए।
नागरिकले हरेक सेवामा सुशासन र पारदर्शीताको अपेक्षा गर्ने र सरकारले समेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायित्व निर्वाह गर्न समेत आग्रह गरे। कतिपय आयोजनाहरु समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको भन्दै त्यसतर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनुपर्ने बताए।
नेपाल अहिले निर्माणको चरणमा रहेको भन्दै मन्त्री दाहालले सुरु गरिएका आयोजनाहरु तोकिएकै समयमा पूरा हुनेगरी कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीहरुलाई सुझाव दिए। कर्मचारीहरुको कार्यसम्पादनबाट नै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभाष दिलाउने गरी काम गर्न उनको आग्रह छ।
नेपालमा केही भएन, हुँदैन र हुन सकेन भन्ने जस्ता गलत भाष्यहरु निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तनहरु नागरिकसम्म पुर्याउन जरुरी रहेको बताए।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने बताए। सडक आयोजनाहरु निर्माण गर्दा सर्वसाधारणलाई सकेसम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरी गर्न समेत कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिए।
कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरी पोखरेल तथा सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बेरुजु व्यवस्थापन, सडक तथा पुल निर्माण एवम् मर्मतको अवस्था र आवश्यकता लगायतका बारेमा कर्मचारीलाई प्रशिक्षणमूलक जानकारी दिएका थिए।