काठमाडौं- रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणको कामका लागि विश्व बैंकबाट १८ अर्ब ७६ करोड रुपैयाँ हाराहारी सहुलियतपूर्ण ऋण लिइने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुने यो आयोजनाका लागि १३ करोड ७० लाख अमेरिकी डलर (१८ अर्ब ७६ करोड ९० लाख रुपैयाँ) सहुलियतपूर्ण ऋण लिन सैद्धान्तिक सहमति दिएको छ।
यो ऋणसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णयसमेत गरिएको छ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले साना किसान सिँञ्चाइ कार्यक्रमका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता १८ लाख ८० हजार लाख स्विस फ्र्यांक (३१ करोड ३९ लाख रुपैयाँ) प्राप्त गर्ने निर्णय समेत गरेको छ।
त्यसैगरी सशस्त्र प्रहरी बल, नेपालअन्तर्गतका बोर्डर आउटपोष्ट, गुल्म तथा विपद् ब्यवस्थापन वेशसमेतका १३ कार्यालयहरूको लागि जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने, नेपाली सेनातर्फ दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने र तीन जना सहायक रथीहरूको सरुवा गर्नेलगायतका निर्णय भएका छन्।
मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई आगामी जेठ ८ मा चीनको बेइजिङमा हुने कार्यक्रममा सहभागी हुन र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेलाई आगामी बैशाख ९ र १० गते हङकङमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरेको छ।