बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अटोमोबाइल व्यवसायीको संस्था 'नाइमा'को औपचारिक घोषणा, पहिलो वर्ष नै नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने

बुधबार, वैशाख ३ २०८२
अटोमोबाइल व्यवसायीको संस्था 'नाइमा'को औपचारिक घोषणा, पहिलो वर्ष नै नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने

नाइमाले आफ्नो स्पष्ट दृष्टिकोण, कार्यक्षेत्र, मध्यकालीन तथा दीर्घकालीन योजना र मोबिलिटी सशक्तिकरणका लागि गरिने हस्तक्षेप कार्यक्रमहरू गर्दै जाने जनाएको छ। प्रतिस्पर्धा नभइ अटोमोबाइल क्षेत्रको समग्र विकास गर्ने उद्देश्य नाइमाको भएको अध्यक्ष वैद्यले बताइन्।

काठमाडौं- अटोमोबाइल व्यवसायीहरूले अर्को संस्था स्थापना गरेर औपचारिक रुपमा घोषणा गरेका छन्। यसअघि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमा आवद्ध भएका र नाडाको अध्यक्षसमेत भइसकेका व्यवसायीहरू मिलेर बनाइएको नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को बुधबार औपचारिक घोषणा भएको हो। 

नाइमा गत फागुन ९ गते कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा कम्पनी ऐनअन्तर्गत दर्ता भएर संस्था स्थापना गरिएको छ। नाइमा नेपालमा उपलब्ध अटोमोबाइल ब्राण्डलाई समेट्ने प्रयास गरिएको छ।

सवारीसाधन उत्पादक तथा एसेम्लब गर्ने र आयातकर्ताहरू संस्थाको सदस्य रहेका छन्। संस्थाको अध्यक्षमा रितु सिंह वैद्यलाई तोकिएको छ। बाँकी सबैलाई बोर्ड मेम्बर बनाइएको छ। वैद्य टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटको प्रबन्ध निर्देशक हुन्। 

नाइमाको बोर्ड सदस्यहरूमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीपकुमार सारडा, निराकार श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा रहेका छन्।

नाइमाले आफ्नो स्पष्ट दृष्टिकोण, कार्यक्षेत्र, मध्यकालीन तथा दीर्घकालीन योजना र मोबिलिटी सशक्तिकरणका लागि गरिने हस्तक्षेप कार्यक्रमहरू गर्दै जाने जनाएको छ। प्रतिस्पर्धा नभइ अटोमोबाइल क्षेत्रको समग्र विकास गर्ने उद्देश्य नाइमाको भएको अध्यक्ष वैद्यले बताइन्। 

नाइमाले पनि सवारीसम्बन्धी प्रदर्शनी गर्ने घोषणा गरेको छ। संस्थाको औपचारिक घोषणासँगै नाइमाले स्थापनाको पहिलो वर्ष नै अटो शो गर्ने भएको हो। योसँगै नेपालको अटोमोबाइल इतिहासमा पहिलोपटक दुईवटा अटो शो हुने भएको छ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र नयाँ संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन(नाइमा)को अलग अलग मितिमा अटो शो हुने भएको छ। नाडाले नाडा अटो शो र नाइमाले नाइमा नेपाल मोबिलिटी एक्सो गर्ने तय भएको छ। 

नाइमाले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म ५ दिन अटो शो गर्ने बताएको छ। नाडाले पनि भदौ ३ गतेदेखि १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजन गर्ने भन्दै यसअघि नै बुकिङ खुलाइसकेको छ। 

नाइमाले गर्ने नेपाल मोबिलिटी एक्सपोको संयोजन समितिमा गौरव शारडा, शिरिस मुरारका र निराकार श्रेष्ठ सदस्य रहेका छन्। 


प्रकाशित : बुधबार, वैशाख ३ २०८२१६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend