आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

ऐँसेलु बेचेर आयआर्जन

images
बुधबार, वैशाख ३ २०८२
images
ऐँसेलु बेचेर आयआर्जन

ऐँसेलुको किनमेल हुन थालेपछि फुर्सदको सदुपयोग भएको छ। घरगुजारा चलाउन पैसाको पनि जोहो हुन थालेको छ।

images
images

गण्डकी- कुनैताका वनपाखा चहारेर खाइने ऐँसेलु हिजोआज राजमार्ग छेउछाउ किनमेल भइरहेको भेटिन्छ। स्वादिष्ट र गुणकारी फल ऐँसेुल कपितयका लागि आयआर्जनको स्रोत बनेको छ। पाखापखेराबाट दुःखजिलो गरी टिपेर ल्याएको एँसेलु बेच्नेमा महिला र बालबालिका बढी हुन्छन्।

images
images
images

वसन्त याममा मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका-३ काँडेमा ऐँसेलु बेच्नेको लर्को देखिन्छ। पहाडी भेगका अन्य सडकमार्गमा पनि ऐँसेलुको किनबेच हुने गर्छ। हिउँदको फुर्सदिलो समयमा ऐँसेलु टिप्नु र बेच्नु स्थानीयवासीको दैनिकी जस्तै बन्ने गरेको छ।

images
images

काँडेकी मनमाया विकले वनपाखा पुगेर ल्याएको ऐँसेलुलाई मल्लाताको हरियो पातमा बेरेर बेच्ने गरेको सुनाइन्। बिहानमा ऐँसेलु टिप्ने र दिउँसो राजमार्गमा ल्याएर बेच्ने गरेको उनले बताइन्। 'ऐँसेलु बेचेको पैसाले सामान्य घरखर्चको जाहो हुन्छ', उनले भनिन्, 'बालबालिकाले कापीकलम किन्ने पैसा जुटाउँछन्।'

images
images

काँडा छिचोलेर ऐँसेलु टिप्ने काम सजिलो भने नहुने उनीहरूको अनुभव छ। थोरै भएपनि नगद आर्जन हुने देखेर स्थानीयवासी ऐँसेुल बेच्न लालायित देखिएका हुन्। महिलाहरूले टपरी झैँ खिपेको सोली आकारको हरियो पातमा ऐँसेलु राखेर बेच्ने गर्छन्। एउटाको मूल्य एकसय रूपैयाँ राखिएको छ। कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्ने गरेका छन्।

दैनिक ज्यालादारी कामको भन्दा धेरै पैसा आउन थालेपछि ऐँसेलुतिर आकिर्षत भएको महिलाहरू बताउँछन्। राजमार्गमा यात्रा गरिरहेका यात्रुले गाडी रोकेर ऐँसेलु किन्ने गर्छन्। कतिपयले चाख मानेर ऐँसेलु किन्ने गरेपनि कोहीले भने वास्तै नगर्ने स्थानीयवासी बताउँछन्।

ऐँसेलुको किनमेल हुन थालेपछि फुर्सदको सदुपयोग भएको छ। घरगुजारा चलाउन पैसाको पनि जोहो हुन थालेको छ। अधिकांश सहरिया मानिसको रोजाइमा ऐँसेलु पर्ने गरेको छ। विदेशी पर्यटकले पनि किनेर खाने गरेका छन्।

लोकमार्गले छोएको कास्कीको फेँदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्त याममा एसेलु बेच्नेहरु भेटिन्छन्। बिदाका दिनमा बालबालिका पनि ऐसेलु बेच्न निस्कन्छन्। वयस्क पुरुष भने यो काममा खासै भेटिँदैनन्।

शनिबारको फुर्सद पारेर बालबालिकाहरू गाउँ नजिकैको वनबाट ऐसेलु टिपेर ल्याउर बेच्ने गर्छन्। पहिलेपहिले वनपाखा धाएर ऐसेलु, चुत्रोलगायत फल खाने चलन थियो। पछिल्लो समय त्यो क्रम हट्दै गएको छ।

चैतदेखि जेठसम्म डाँडापाखामा ऐँसेलु पाक्ने गरेको गरेको छ। ऐँसेलुबाट जुस, वाइन पनि बनाउन सकिने वनस्पती विज्ञहरू बताउँछन्।

वनमा यसै खेर जाने फलबाट लाभ लिन सक्नुपर्ने उनीहरूको भनाइ छ। मझौला काँडेदार बुट्यान (झाडी)मा ऐँसेलु फल्छ। पहाडी भेगको सातसयदेखि दुई हजार मिटरसम्ममा ऐँसेलु पाइन्छ। यो फल रसिलो र गुलियो हुन्छ। ऐँसेलु प्रकृतिमा आफै उम्रेर वर्षौँसम्म टिक्ने वनस्पति हो। अपच भएको अवस्थामा ऐँसेलु प्रयोग गर्नु लाभदायी मानिन्छ।

वनस्पती विज्ञका अनसार ऐँसेलुमा भिटामिनसीसहित सुक्ष्म पोषक तत्व पाइन्छ। ऐँसेलुको जरामा पनि औषधीय गुण हुन्छ। यो पूर्ण रूपमा जैविक फल हो। यो फल नेपालको अधिकांश पहाडी भेगमा पाइन्छ। नेपालसहित भारत, चीन र पाकिस्तानमासमेत पाइने यो फल रंगका आधारमा तीनथरिको हुन्छ। रासस


प्रकाशित : बुधबार, वैशाख ३ २०८२१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend