बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गभर्नर नियुक्तिको विषयमा कांग्रेस सभापति देउवाको प्रस्ताव मान्न प्रधानमन्त्री ओली तयार

मंगलबार, वैशाख २ २०८२
गभर्नर नियुक्तिको विषयमा कांग्रेस सभापति देउवाको प्रस्ताव मान्न प्रधानमन्त्री ओली तयार
फाइल तस्बिर।

प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले विवादरहित र संकटोन्मुख भइरहेको वित्तीय क्षेत्र सम्हाल्न सक्ने व्यक्तिलाई गभर्नर नियुक्ति गर्नमा जोड दिएका थिए।

काठमाडौं- नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्ने विषयमा सत्तारुढ दलबीच सहमति जुट्न सकेको छैन। गभर्नर नियुक्तिको विषयले सत्ता गठबन्धनमै संकट परेको भन्दै प्रचारबाजी सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा आज मंगलबार छलफल भएको छ।

शिक्षक आन्दोलन र गर्भनर नियुक्तिलाई लिएर देउवा र ओलीबीच झन्डै एक घण्टा कुराकानी भएको वालुवाटार स्रोतले जनाएको छ। सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित गभर्नरको बारेमा छलफल गरेपनि अझै सहमति हुन नसकेको बताइएको छ।

कांग्रेसनिकट स्रोतका अनुसार गभर्नरमा ओलीले नीलम ढुंगानाको नाम अगाडि सारेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ढल्ने अभिव्यक्तिसमेत दिइरहेका थिए। यसैले गभर्नर नियुक्तिको विषयलाई लिएर कांग्रेस पार्टीभित्रै पनि असन्तुष्टि बढेको भन्दै दुई शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो। 

प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले विवादरहित र संकटोन्मुख भइरहेको वित्तीय क्षेत्र सम्हाल्न सक्ने व्यक्तिलाई गभर्नर नियुक्ति गर्नमा जोड दिएका थिए। देउवानिकट स्रोतका अनुसार अर्थतन्त्र चलायमान गराउन सहयोग गर्ने सक्षम व्यक्ति गभर्नर बनाउनुपर्ने र त्यसका लागि कांग्रेसको सहमति लिएरमात्रै अगाडि बढ्न सुझाव दिइएको छ। 

देउवाको प्रस्तावमा ओली सहमत भएकोसमेत बताइएको छ। सल्लाह गरेरै सहमतिमा गर्भनर नियुक्त गर्ने ओलीले देउवालाई विश्वस्त पारेकोसमेत कांग्रेसनिकट स्रोतले जानकारी दिएको छ। नीलम हाल कायममुकायम गभर्नरका रूपमा काम गरिरहेकी छिन्। 

प्रधानमन्त्री ओलीले निर्वाचन आयोग तथा अन्य संस्थामा कांग्रेसले भनेअनुरुप नियुक्ति दिएर गभर्नरमा निलम अगाडि सार्न खोजेपनि देउवाले यसपटक गभर्नरका लागि अडान लिइरहेका छन्। 

विद्युत प्राधिकरणमा समेत ओलीले आफ्नो रोजाइमा हितेन्द्रदेव शाक्य नियुक्त गरिसकेकोले अब कांग्रेसले गभर्नर नछाड्न पार्टीभित्रैबाट दबाब रहेको कांग्रेसका एक उच्च तहका नेताले बताए।

'आगामी गभर्नरमा राष्ट्र बैंकका निर्देशक डा. गुणाकर भट्ट र ज्ञानेन्द्र ढुंगानामध्ये एकलाई अगाडि सार्न खोजिएको छ। यसअघि राजेन्द्रकुमार क्षेत्री र रवीन्द्र पाण्डेमध्ये एकजनालाई बनाउन खोजेपनि उमेर हदका विवाद अदालतसम्म पुगेपछि देउवाले डा. भट्टलाई गभर्नर बनाउन बढी जोड गरिरहेका छन्', ती नेताले बताए।


प्रकाशित : मंगलबार, वैशाख २ २०८२१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend