बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शेष घले र अमृतरत्न शाक्यले ४ अर्ब ७५ करोडको लगानीमा सुरु गरे भक्तपुरमा उच्चस्तरीय रिसोर्ट निर्माण

सोमबार, वैशाख १ २०८२
शेष घले र अमृतरत्न शाक्यले ४ अर्ब ७५ करोडको लगानीमा सुरु गरे भक्तपुरमा उच्चस्तरीय रिसोर्ट निर्माण

काठमाडौं- झण्डै १० वर्षभन्दा बढी समयसम्म ठमेलमा निर्माणाधीन होटल सञ्चालनमा ल्याउन नसकेका शेष घलले होटलकै अर्को 'ड्रिम प्रोजेक्ट' सुरू गरेका छन्।

निकै तामझामसहित गैह्रआवासीय नेपाली संघ (एनआरएनए)का तत्कालीन अध्यक्षसमेत रहेका शेष घलेले नेपालमा ८ अर्ब रुपैयाँ लगानीमा लक्जरी होटल बनाउने भन्दै सुरुवात गरेको यसअघिको प्रोजेक्ट सञ्चालनमा आएको छैन। यहीबीचमा भक्तपुरमा ४ अर्ब ७५ करोड रुपैयाँ लगानीमा नयाँ हाइ एण्ड रिसोर्ट बनाउनका लागि नयाँ वर्षमा आज शिलान्यास गरेका छन्।

जसमा घलेसहित समिट होटलका संस्थापक अमृतरत्न शाक्यको लगानी रहने छ। संयुक्त लगानीमा भक्तपुरको घ्याम्पेडाँडामा रिसोर्ट निर्माण गर्न लागिएको हो। एक सय रोपनी क्षेत्रफलमा बनाउन लागिएको रिसोर्टको सोमबार शिलान्यास गरिएको हो। तीन वर्षभित्र भक्तपुरमा हाइ इण्ड रिसोर्ट तयार हुने दाबी गरिएको छ।

घलेको एमआईटी र शाक्यको इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइइजी) को संयुक्त लगानीमा निर्माण हुने रिसोर्टमा न्यूनतम ६० वटा भिल्ला हुने बताइएको छ। परियोजनामा एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल, टाइम-सेयर मोडेलका भिल्ला तथा विभिन्न मनोरञ्जन केन्द्रहरू समावेश हुने छन्।

(पर्फर्मिङ आर्ट) कला, परम्परागत हस्तकला, खाद्य संस्कृति र इतिहास जस्ता अमूर्त सांस्कृतिक सम्पदासहित परम्परागत संरचनालाई पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित प्रोपर्टी निर्माणस्थल सुन्दर हिमशृंखला देखिने घना जंगलले घेरिएको पहाडी थुम्कोमा रहेको छ, जुन 'सुतिरहेका बुद्ध शाक्यमुनि' को अगाडिपट्टि रहेजस्तो देखिन्छ।

यो महत्वाकांक्षी परियोजना नेपाली संस्कृति, सम्पदा र संगीतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पारखी र प्रकृतिप्रेमीका लागि उत्कृष्ट गन्तव्य हुने जनाइएको छ।

स्वस्थ जीवनशैलीमा जोड दिने परिपूर्ण वेलनेस सेन्टरका रुपमा विकास गरिने बताइएको छ। ४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी रहने अनुमान गरिएको यो परियोजनामा टाइम-सेयर मोडलका ६० वटा भिल्ला रिसोर्ट र एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल रहनेछ। परियोजना सन् २०२७ को नोभेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

माइस (मिटिङ, इन्सेन्टिभ, कन्फेरेन्स, एक्जिबिसन), इभेन्ट, अन्तर्राष्ट्रिय सेमिनार, डेस्टिनेसन वेडिङ हब (वैवाहिक कार्यक्रमको गन्तव्य), लाइभ संगीत प्रदर्शनस्थल, एम्फिथिएटर (कला, संस्कृति र संगीतको जीवन्त प्रदर्शन), योग, ध्यान, आध्यात्मिक साधना र रक क्लाइम्बिङ, हाइकिङ, साइक्लिङ जस्ता खेलकुद गतिविधिहरूमा विशेष जोड दिँदै खानपान र स्वास्थ्य तथा मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यको रूपमा विकास हुने दाबीसमेत गरिएको छ।


प्रकाशित : सोमबार, वैशाख १ २०८२१७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend