शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नारायणगढ-बुटवल सडक विस्तारको काम नसकिएपछि चौथोपटक म्याद थपको प्रयासमा चिनियाँ ठेकेदार

पश्चिमतर्फ जाने यात्रु ७ वर्षदेखि सास्ती भोग्दै

सोमबार, चैत २५ २०८१
नारायणगढ-बुटवल सडक विस्तारको काम नसकिएपछि चौथोपटक म्याद थपको प्रयासमा चिनियाँ ठेकेदार

विसं २०७५ चैत ८ गते तत्कालीन समयमा समेत प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले नै बुटवलबाट दुवै खण्डको शिलन्यास गरेका थिए। शिलन्यास भएको ७ वर्षसम्म पनि काम सम्पन्न हुने टुंगो छैन।

काठमाडौं- एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माणाधीन नारायणगढ-बुटवल सडक विस्तारको काम अझै सकिने सुरसार छैन। तेस्रोपटक थपिएको म्याद साउनमा सकिँदैछ।

ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले २०८२ साउनसम्म सम्पन्न गर्ने प्रस्ताव आयोजनालाई दिएको छ। यो प्रस्ताव स्वीकृत भएमा चौथोपटक आयोजनाको म्याद थप हुनेछ।

विसं २०७५ चैत ८ गते तत्कालीन समयमा समेत प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले नै बुटवलबाट दुवै खण्डको शिलन्यास गरेका थिए। शिलन्यास भएको ७ वर्षसम्म पनि काम सम्पन्न हुने टुंगो छैन।

२०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ-बुटवल सडक विस्तारको काम भइरहेको छ। विसं २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच २०७९ साउन २२ भित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो। तर समयमा काम सम्पन्न भएन।

निर्धारित समयमा काम सम्पन्न नभएपछि सरकारले २०८१ साउन ८ गते सम्मका लागि दोस्रो पटक म्याद थप गरेको थियो। यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको हो। यस अवधिमा समेत काम सकिने अवस्था लगभग टरेको छ। 

butwol narayan.jpg

एक सय १४ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार  लेनसहित दुवैतर्फ ६/६ मिटरको ‘सर्भिस लेन’ हुनेछ। दाउन्नेमा १३ किलोमिटर  तीन लेनको सडक हुनेछ।  सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाइ ७/७ मिटरको हुनेछ। बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ।

गैँडाकोट-दाउन्ने (६५ किलोमिटर) र दाउन्ने-बुटवल ४९ किमि गरी दुई खण्ड छन्। सडक विभागले सडकलाई २ खण्ड बनाई ठेक्का लगाए पनि निर्माण कम्पनी एउटै छ। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले पूरै तर्फको सडक विस्तारको ठेक्का पाएको थियो।

अहिले बल्ल पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ। पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो।

यसैबीच आयोजनाले बर्दघाट (एसमोड) उकालोदेखि दुम्कीवाससम्मको १३ किलोमीटर (किमी) सडक दिउँसो र राति विभिन्न समयमा १९ दिनसम्म बन्द गरेर काम गर्ने निर्णय गरेको छ। वर्षादसम्म १३ किलोमिटर काम सम्पन्न भएकमा राहत हुने बुझाई सडक विभागको छ। आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले चैत २५ वा २६ गतेदेखि लागू हुने गरी पहिलो ४ दिनलाई दिउँसो र त्यसपछिको १५ दिन राति यातायात निषेध गर्ने निर्णय भएको जानकारी दिए।

निर्णयअनुसार पहिलो ४ दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द हुनेछ भने त्यसपछि १५ दिन राति ११ बजेदेखि बिहान ५ बजेसम्म बन्द हुनेछ। उक्त खण्ड ३ लेनको बन्नेछ। अहिले दाउन्ने खण्ड धूलाम्मे छ। कामदार धूलाम्मे भएर काम गरिरहेका छन्। सरकारले चिनयाँ कम्पनीलाई २०८२ साउनसम्म म्याद थपिदिएको छ। तर कम्पनीले २०८३ साउनसम्ममा मोटामोटी सडक बनाइसक्ने भएकोले एकपटक पुनः म्यादथप हुन सक्ने आयोजना प्रमुख ढकाल बताउँछन्।

१६ अर्ब ९९ करोड ५३ लाख रुपैयाँको लागतको यो सडक निर्माणमा ठेकेदार र सरकारी निकायकै कारण ढिलाइ भएको छ। जसका कारण पश्चिमतर्फ जाने हजारौँ यात्रु अहिले पनि दैनिक मार खेपिरहेका छन्।


प्रकाशित : सोमबार, चैत २५ २०८११०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend