शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

३३ लाख रूपैयाँको लागतमा कोसेरा खोलामा पुल निर्माण

आइतबार, चैत २४ २०८१
३३ लाख रूपैयाँको लागतमा कोसेरा खोलामा पुल निर्माण

३२ मिटर लामो पुलबाट एकसय घरपरिवारका ४८५ जनसङ्ख्या लाभान्वित भएका छन्।

म्याग्दी- रघुगंगा गाउँपालिका-८ कुइनेको कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण भएको छ। ३३ लाख २४ हजार एकसय ६७ रूपैयाँको लागतमा निर्माण भएको ३२ मिटर लामो पुलबाट एकसय घरपरिवारका ४८५ जनसङ्ख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालले जानकारी दिए।

'खोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या पुल बनेपछि हटेको छ', उनले भने, 'अब ढुक्क भएर सुरक्षित रूपमा खोला वारपार गर्न पाइने भयो।'

रघुगंगा गाउँपालिका, उपभोक्ता र झोलुंगे पुल क्षेत्रगत सहयोग कार्यक्रमको सहकार्यमा पुल निर्माण भएको हो। पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो।

रघुगंगा गाउँपालिकाले चार लाख ७२ हजार ४७७ र झोलुंगे पुल क्षेत्रगत कार्यक्रमले ३० लाख ८९ हजार २ सय ७३ रूपैयाँ सहयोग गरेको पुल निर्माणमा उपभोक्ताले ७२ हजार ६ सय ८८ रूपैयाँ बराबरको श्रमदान गरेका छन्।

जिल्लामा झोलुंगे पुल निर्माणसम्बन्धी योजनाको सामुदायिक परिचालनको काम गर्दै आएको गैरसरकारी संस्था मिलनका अध्यक्ष दिलु बिटालुका अनुसार चालु आर्थिक वर्षको हालसम्म धवलागिरि गाउँपालिकामा दुईवटा, रघुगंगा र बेनी नगरपालिकामा एक-एकवटा झोलुंगे पुल निर्माण भएको छ।

आव २०८०/८१ मा छ र आर्थिक वर्ष २०७९/८० मा नौ झोलुंगे पुल निर्माण भएको थियो। मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर २९१ झोलुंगे पुल छन्।

झोलुंगे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दुरी छोटिएको, पर्यटक, स्थानीयवासी र विद्यार्थीलाई आवातजावतमा सहज भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। रासस


प्रकाशित : आइतबार, चैत २४ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend