बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ट्रम्पको कर नीति कार्यान्वयनमा आएपछि ज्यागुअर ल्यान्ड रोभरले रोक्यो बेलायतबाट हुने सिपमेन्ट

आइतबार, चैत २४ २०८१
ट्रम्पको कर नीति कार्यान्वयनमा आएपछि ज्यागुअर ल्यान्ड रोभरले रोक्यो बेलायतबाट हुने सिपमेन्ट

जेएलआरले रेन्ज रोभर स्पोर्टस, डिफेन्डर र अन्य मोडल गरी वार्षिक ४ लाख कार बिक्री गर्दै आएको छ। यसमध्ये करिब एक चौथाइ अमेरिकामा बिक्री गर्दै आएको थियो।

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको नयाँ कर नीतिले विश्वभर तरंगमात्र ल्याएको छैन व्यापार नै प्रभावित हुन थालेको छ। बेलायती विलासी कार निर्माता कम्पनी ज्यागुअर ल्यान्ड रोभर(जेएलआर)ले अमेरिकातर्फ हुने कार सिपमेन्ट नै रोक्ने निर्णय गरेको छ। 

शनिबार जेएलआरले बेलायतमा बनेर अमेरिका निर्यात हुने आफ्ना कारको सिपमेन्ट तत्कालका लागि रोक्ने निर्णय गरेको हो। यो निर्णय एक महिनाका लागि लागु हुने र त्यसपछि अर्को निर्णय लिने कम्पनीले उल्लेख गरेको रोयटर्सले लेखेको छ। ट्रम्पले लगाएको २५ प्रतिशत करका कारण बढेको लागत कसरी मेन्टेन गर्ने भन्ने चिन्ता उत्पन्न भएको छ। 

भारतीय कम्पनी टाटा मोटर्सको स्वामित्वमा रहेको ज्यागुअर ल्यान्ड रोभरले अमेरिकातर्फ हुने निर्यातमा अल्पकालिन रोक लगाएको हो। 'अमेरिकाले लगाएको नयाँ नीतिका बारेमा आफ्नो व्यवसायिक साझेदारसँग छलफल गरिरहेको र त्यसका लागि छोटो अवधिका लागि उक्त निर्णय लिइएको हो। अप्रिल महिनाकै सिपमेन्ट पनि रोकिएको छ। यस विषयमा दीर्घकालिन योजना तय गरेर अघि बढ्छौँ,’ जेएलआरले इमेलमा बताएको रोयटर्सले भनेको छ। 

बेलायती विलासी कार निर्माता जेएलआरमा २ लाख मानिसले प्रत्यक्ष रोजगारी पाएका छन्। अमेरिकाको नयाँ कर नीतिले जेएलआरलाई प्रत्यक्ष प्रभाव गर्ने देखिएको छ। अमेरिकाले युरोपेली युनियनपछि धेरै कार बेलायतबाट आयात गर्दै आएको छ। 

संख्याका आधारमा बेलायतको सबैभन्दा धेरै कार उत्पादक कम्पनी ज्यागुअर ल्यान्ड रोभर हो। जेएलआरको विलासी उत्पादनका अमेरिका राम्रो बजार रहेको कम्पनीले उल्लेख गरेको छ। 

जेएलआरले रेन्ज रोभर स्पोर्टस, डिफेन्डर र अन्य मोडल गरी वार्षिक ४ लाख कार बिक्री गर्दै आएको छ। यसमध्ये करिब एक चौथाइ अमेरिकामा बिक्री गर्दै आएको थियो। 

अप्रिल ३ बाट अमेरिकाले आयातित कार र लाइट ट्रकहरुमा २५ प्रतिशत कर लाग्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। अप्रिल २ मा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वभरबाट आयात गरिले मालवस्तुमा लाग्ने करका दर सार्वजनिक गरेका थिए। 

बेलायतले वासिङटनसँग व्यापारमा भइरहेको असामान्य परिस्थितिका बारेमा कुराकानी गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेको जनाएको छ। 

केही महिनाका लागि अमेरिकामा बिक्री गर्न पुग्ने कारहरु त्यहाँ पुगिसकेको र त्यो नयाँ कर नीतिबाट प्रभावित हुने छैन। त्यतिन्जेलसम्म नयाँ कर नीतिबारे पुनर्विचार हुन नसके व्यापावर प्रभावित हुने ज्यागुअर ल्यान्ड रोभरले जनाएको छ।


प्रकाशित : आइतबार, चैत २४ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend