बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बतास समूहको हायर पर्चेज कम्पनी 'बतास इन्भेस्टमेन्ट' केडिया अर्गनाइजेसनले किन्यो

बिहीबार , चैत २१ २०८१
बतास समूहको हायर पर्चेज कम्पनी 'बतास इन्भेस्टमेन्ट' केडिया अर्गनाइजेसनले किन्यो

केडिया अर्गनाइजेसनले बतास इन्भेस्टमेन्ट कम्पनी १ अर्ब ५० करोड रुपैयाँ मूल्यांकन गरेर खरिद गरेको हो। बतास इन्भेस्टमेन्टमा रहेको कर्जा दायित्वलगायत सबै मूल्यांकन गरेर उक्त रकममा खरिद-बिक्री सम्झौता भएको हो।

काठमाडौं- बतास समूहअन्तर्गतको हायर पर्चेज कम्पनी 'बतास इन्भेस्टमेन्ट प्रालि' केडिया समूहअन्तर्गतको केडिया अर्गनाइजेसनले खरिद गरेको छ। 

दुई समूहबीच उक्त हायर पर्चेज कम्पनी खरिद बिक्री गर्न लामो समयदेखि छलफल हुँदै आएको थियो। डीडीए गरेर आएको भ्यालुएसनमा केही भ्यालुएड गरेर बतास इन्भेस्टमेन्ट खरिद गर्न केडिया अर्गनाइजेसन राजी भएको हो।

बतास समूह र केडिया समूहबीच बतास इन्भेस्टमेन्ट खरिद-बिक्री सम्झौता यसैसाता टुंगिएको हो। दुई समूहले नामसारीलगायत प्रक्रियासमेत सकिसकेका छन्। 

बतास इन्भेस्टमेन्ट केही समयअघि अर्को समूहले समेत खरिद गर्न खोजेको थियो। तर दुई पक्षबीच कुरा नमिलेपछि बिक्री भएको थिएन।

सवारीसाधन बिक्री गर्ने कम्पनीका लागि हायर पर्चेज कम्पनी अनिवार्यजस्तै मानिन्छ। सोहीकारण अधिकांश सवारी बिक्री गर्ने समूहसँग हायर पर्चेज कम्पनी रहेको छ। 

हायर पर्चेज इनभेस्टमेन्ट कम्पनी खोल्न नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ। पछिल्लो केही वर्षयता राष्ट्र बैंकले हायर पर्चेज इनभेस्टमेन्ट कम्पनीका लागि नयाँ लाइसेन्स खोलेको छैन। त्यहीकारण नयाँ लाइसेन्स लिन चाहनेहरूले पाएका छैनन्।

सवारी बिक्रेता कम्पनीहरूले सहज रुपमा कर्जा प्रवाह गर्न आफ्नै इनभेस्टमेन्ट कम्पनीको लाइसेन्स लिएर सेवा दिने गरेका छन्। पछिल्लोपटक चीनबाट धेरै ब्रान्डहरू आइरहेकाले ती सवारी आयात गर्ने कम्पनीहरू पनि हायरपर्चेज कम्पनीको नयाँ लाइसेन्सको पर्खाइमा रहेका छन्।

पछिल्लो पटक नेपाल राष्ट्र बैंकले २०८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा विद्युतीय सवारीसाधनमा दिइने कर्जाको लोन टू भ्यालु रेसियो २० प्रतिशतबटा ४० प्रतिशत कायम गरिदिएको छ। यसले पनि सवारी बिक्रेता कम्पनीहरूलाई अप्ठेरो परेको छ। हायर पर्चेज कम्पनीहरूले केही व्यवस्थापन गरे पनि अन्य कम्पनीका लागि भने कर्जा बैंक तथा वित्तीय संस्थाबाट मिलाउनुपर्ने हुन्छ।

बतास अर्गनाइजेसनअन्तर्गतको कम्पनी विगतमा अटोमोबाइल व्यापारमा भएकाले बतास अर्गनाइजेसनसँग हायर पर्चेज कम्पनी थियो। तर अहिले भने बतास अर्गनाइजेसनसँग एकल स्वामित्वको अटोमोबाइल कम्पनीको आधिकारिक बिक्रेता कम्पनी छैन। 

विगतमा बतास अर्गनाइजेसनअन्तर्गत फियाट, जिप तथा आइसर ब्रान्डको कमर्सियल सवारी आधिकारिक बिक्रेताको रुपमा आयात हुँदै आएको थियो। त्यस्तै अर्गनाइजेसनले पोखरामा विभिन्न ब्रान्डको डिलर र सेकेन्ड ह्यान्ड कार पनि बिक्री गर्दै आएको छ। तर अहिले बताससँग फियाट/जिप तथा आइसरको आधिकारिक बिक्रेता छैन। बतास अर्गनाइजेसनले उक्त आधिकारिक बिक्रेता कम्पनीहरूको सेयर हिस्सा बिक्री गरेर आफू न्यून साझेदारीमा रहेको छ। 

आफूसँग सवारी ब्रान्ड नभएकाले उपयुक्त ‘डिल’ पाएमा बतास इनभेस्टमेन्ट कम्पनी बिक्री गर्ने मुडमा बतास अर्गनाइजेसन रहेको थियो। बतासले बिक्री गर्न चाहेकाले एउटा समूहसँग कुरा नमिलेपनि अर्को समूहसँग कुरा मिलेको हो।  

केडिया अर्गनाइजेसनले बतास इन्भेस्टमेन्ट कम्पनी १ अर्ब ५० करोड रुपैयाँ मूल्यांकनमा खरिद गरेको हो। बतास इन्भेस्टमेन्टमा रहेको कर्जा दायित्वलगायत सबै मूल्यांकन गरेर उक्त रकममा खरिद-बिक्री सम्झौता भएको हो। 

केडिया अर्गनाइजेनसले विगत लामो समयदेखि एसएमएल इसुजु ब्रान्डको कमर्सियल सवारी बिक्री गर्दै आएको थियो। तर यो कम्पनीले अहिले एसएमएल इसुजुको व्यापारबाट हात झिकेको छ। 

अहिले केडिया अर्गनाइजेसनले अल्ट्रा भ्वाइलेट ब्रान्डको विद्युतीय मोटरसाइकल र एम्पियर ब्रान्डको विद्युतीय स्कुटर बिक्री गर्दै आएको छ। कम्पनीले दुई तीनवटा चिनियाँ ब्रान्डका विद्युतीय कार ल्याउने तयारी गरेर छलफल गरिरहेको छ।

अबको एक महिनाभित्र केडिया अर्गनाइजेसनले कम्तिमा एउटा चिनियाँ विद्युतीय कार ब्रान्ड ल्याइसक्ने जनाएको छ। विद्युतीय कार तथा विद्युतीय कमर्सियल भ्यान तथा माइक्रोबस सेगमेन्टमा पनि काम गर्न लागेकाले कम्पनीले हायर पर्चेज कम्पनी खरिद गरेको हो।


प्रकाशित : बिहीबार , चैत २१ २०८११७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend