बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पहिलोपटक पोखरामा क्षेत्रीय अटो शो : बिहीबारदेखि सुरु, ३१ सवारी ब्रान्ड सहभागी

बुधबार, चैत १३ २०८१
पहिलोपटक पोखरामा क्षेत्रीय अटो शो : बिहीबारदेखि सुरु, ३१ सवारी ब्रान्ड सहभागी

२५ वटा सवारी पार्टपुर्जाका ब्रान्डहरुले सहभागिता जनाएका छन् भने २ वटा बैंक र बीमा कम्पनी र एउटा रिकन्डिसन कम्पनी पनि वाडामा हुने छ।

काठमाडौं- यसअघिसम्म काठमाडौंमा मात्र सीमित भएको अटो शो अब क्षेत्रीय स्तरमा पनि हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा नाडाकै सदस्य संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाड)ले पहिलोपटक पोखरामा क्षेत्रीय अटो शो आयाजना गरेको हो।

उक्त वाडा अटो शो बिहीबार अर्थात चैत १४ देखि सुरु हुँदैछ। १४ गतेदेखि सुरु हुने वाडा अटो शो १७ गतेसम्म पोखरामा हुँदैछ। ‘नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५’ घोषणा गरेर नाडाले पहिलोपटक काठमाडौं बाहिर अटो शो गर्ने घोषणा गरेको थियो।

वाडा अटो शोका लागि वाडाले फागुन ८ गतेदेखि बुकिङ खुल्ला गरेको थियो। प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलोपटक पोखरामा वाडा अटो शो आयोजना गर्न लागिएको हो।

यो वर्षको वाडा अटो शोमा ७ वटा दुईपांग्रे ब्रान्ड, ५ वटा विद्युतीय लाइट कमर्सियल सवारी ब्रान्ड र १९ वटा चार पांग्रे ब्रान्डले सहभागिता जनाएका छन्। 

वाडा अटो शोमा सहभागी दुई पांग्रे ब्रान्डमा ट्रायम्फ, सुजुकी, रोयल इनफिल्ड, टीभीएस, एथर, यामाहा र बजाज रहेका छन्। दुई पांग्रेमा विद्युतीय सवारी ब्रान्ड एथरमात्रै रहेको छ। 

यता चार पांग्रेतर्फ भने विद्युतीय सवारी ब्रान्डकै बाहुल्यता रहेको छ। चार पांग्रेतर्फ हुन्डाई, दिपल, स्काइवेल, ओमोडा/जेइको, निसान/जीकर, लिपमोटर्स/सिट्रोन, महिन्द्रा, सुजुकी, एमजी, एलईभी, टोयोटा, नामी, किया, इसुजु, केई, टाटालगायत ब्रान्ड रहेका छन्। 

त्यस्तै लाइट कमर्सिलय विद्युतीय सवारीतर्फ पाँच ब्रान्डको सहभागिता रहेको छ। लाइट कमर्सियलतर्फ हाइगर, न्यू गोनाओ, स्काइवर्थ, डोङफेङ र कामा ब्रान्डका सवारी वाडा अटो शोमा प्रदर्शनीमा राखिने छन्। 

यसैगरी २५ वटा सवारी पार्टपुर्जाका ब्रान्डहरुले सहभागिता जनाएका छन् भने २ वटा बैंक र बीमा कम्पनी र एउटा रिकन्डिसन कम्पनी पनि वाडामा हुने छ।  

वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान गर्दै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नवीनतम् प्रविधिहरूको साक्षात्कार गराउने अपेक्षा राखेका छन्। 

नाडाले १७औँ संस्करणको नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने निर्णय गरिसकेको छ।  


प्रकाशित : बुधबार, चैत १३ २०८११२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend